देउवाको गृहजिल्ला पुगेर रविले भने, डडेल्धुरा परिवर्तनका लागि तयार भएछ

डडेल्धुरा  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित हुँदै आएको डडेल्धुरा राजनीतिक परिवर्तनका लागि तयार रहेको बताएका छन् ।

सदरमुकाम अमरगढीमा बिहीवार रास्वपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै लामिछानेले परिवर्तनका लागि डडेल्धुरा तयार हुनुको अर्थ रहेको बताए । रविको भाषण सुन्न असारे झरीमा सयौं सर्वसाधारण छाता ओडेर आएका थिए । सर्वसाधारण भिजेको देखेपछि रविले मञ्चको पोडियमबाट नभई भिजेरै सम्बोधन गरेका थिए । ‘डडेल्धुराले साइत पा¥यो । डडेल्धुरामा केही न केही पक्कै छ । घटाल बाबा र उग्रतारा माताको आर्शीवाद लिएर आएको छु’ रविले भने ।

कांग्रेस सभापति देउवालाई डडेल्धुराले पटक–पटक निर्वाचित गरेर प्रधानमन्त्री बनाए पनि उनले देशको पक्षमा निर्णय गर्न नसकेको रविले बताए । ‘देउवाको आलोचना गर्न म यहाँ आएको होइन, गरिब किसानको छोरो प्रधानमन्त्री बन्न सक्दो रहेछ भनेर उहाँले देखाउनु भयो’ रविले भने, ‘अब निर्वाचित भएर जाने व्यक्तिले घरपरिवारको मात्र भलो नहेरोस् ।’ नयाँ दल आएपछि पुराना दलले आफूलाई परिवर्तन गर्लान् भनेको उल्टै नयाँ–नयाँ काण्ड शुरु भएको उनले दाबी गरे । ‘सरकारले भ्रष्टाचारका फाइल खोल्न शुरु गरेको छ । जिस्काउन फाइल खोलेजस्तो नहोस् । शरणार्थी प्रकरणमा पनि सरकारले हाँगाबिँगा मात्र काट्यो, जरोलाई जेल पठाउन बाँकी छ’ रविले भने, ‘मैले प्रधानमन्त्रीलाई संसदमा सोधेको थिए, तपाईंको मुटु जाँच्न चाहन्छु भनेर । मुटु जाँचको रिपोर्ट​ आएको छैन, रिपोर्ट आउनु प¥यो ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.