सुदूरपश्चिम सरकारमा सहभागि हुँदै रेशमलालको पार्टी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा रेशमलाल चौधरीको पार्टी सहभागी हुने भएको छ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएका चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारका सहभागी हुने भएको हो ।

बिहिबार मात्रै सो विषयमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र रेशमलाल चौधरीसहितको बीचमा भेटवार्ता एवं छलफल भएको छ । यसअघि हिजो नै रेशमले आफूहरुले सरकारमा जाने निर्णय गरेको बताएका थिए । सोही अनुरुप मुख्यमन्त्री शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले रेशमसँग वार्ता गरेका हुन् । उनीहरुले बर्दियाको ठाकुरद्वारामा संवाद गरेको बताइएको छ ।
उक्त वार्तामा नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सांसद गङ्गा चौधरी पनि थिए । मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्तिलाई २ मन्त्री, २ समितिको सभापति र १ उपसभामुख दिन रेशमले माग गरेका थिए । जसमा लगभग सहमति भएको नाउपाका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए । उनका अनुसार केही दिनभित्रैमा नाउपा सरकारमा सहभागी हुनेछ।
अहिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छन् ।

नागरिक उन्मुक्तिलाई २ मन्त्रालय दिन मुख्यमन्त्री तयार रहेपनि मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन। यसअघि नागरिक उन्मुक्तिले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको थियो । सुदूरपश्चिममा अहिले चार वटा विषयगत समिति छन् । कुनै पनि समितिमा सभापति चयन भएको छैन ।

अहिले सुदूरपश्चिम प्रदेशमा उपसभामुख एमालेकी कोइली देवी चौधरी छन् । यता मुख्यमन्त्री शाहले पहिलो चरणमा छलफल टुङ्गिएको र यस बिषयमा शीर्ष नेताहरूबाटै टुङ्गो लगाउने बताए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.