हत्या आरोपी कारागार चलान, नक्कली मेडिकल सञ्चालक रिहा

बैतडी : महिलाको हत्या आरोपमा दुई वर्षपछि पक्राउ परेका मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाल कारागार चलान भएका छन् । दयाललाई डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ वर्षीया गीतादेवी मल्लको हत्या आरोपमा प्रहरीले असार दोस्रो साता पक्राउ गरेको थियो । गीतादेवीको हत्यामा संलग्न रहको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

विस २०७८ साल साउन ८ गते बैतडीको मेलौली नगरपालिका ५ सेरी माइती घर आउँदै गरेकी गीता मेलौली नगरपालिका ७ ल्वाथलीमा मृत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि थप अनुसन्धान गर्दा घटनामा गोरखको संलग्नता रहेको आशंकामा गोरखलाई पक्राउ गरेको थियो । गीतादेवी मृत्युभन्दा अघिल्लो दिन गोरखको सम्पर्कमा आएको खुल्न आएको थियो। गोरखविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्दा गोरखले प्रहरीसमक्ष गीताको शव आफूले फालेको भनेर बयानसमेत दिएका थिए ।

यसैबीच पञ्चेश्वरमा अवैध रुपमा मेडिकल सञ्चालन गरी बिरामी चेकजाँच गरेको आरोपमा पक्राउ परेकी श्यामाकुमारी शाह धरौटीमा रिहा भएकी छन् । पक्राउ परेकी श्यामाविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धानपछि जिल्ला अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जोशीले जानकारी दिए । मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाँच्नेदेखि लिएर औषधि बिक्री गर्ने काम गरिरहेकी फेला परेपछि प्रहरीले दुई हप्ता अगाडि नियन्त्रणमा लिएको थियो ।

श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएको र उनीले नै क्लिनिकमा बिरामी जाँच्नेदेखि लिएर औषधि बिक्री गर्ने काम गरिरहेकाले प्रहरीले नियन्त्रणमा लिएको जनाएको थियो । श्यामा क्लिनिक बिनाअनुमति सञ्चालन रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले गएको जेठ दोस्रो साता सिल गरेको थियो । त्यसपछि गाउँपालिकाले मेडिकल सञ्चालनका लागि अनुमति दिएको भए पनि स्वास्थ्यसँग सम्बन्धित नभएका व्यक्तिले बिरामी जाँच्नेदेखि लिएर औषधि बिक्री गर्ने काम गरिरहेकाले नियन्त्रणमा लिएको हो । श्यामा पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहकी श्रीमती हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.