गेटा आँखा अस्पतालबाट एक वर्षमा एक लाखले लिए सेवा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-५ गेटामा रहेको गेटा आँखा अस्पतालबाट एक वर्षमा आँखाका झण्डै एक लाख बिरामीले सेवा लिएका छन् । गत आर्थीक वर्ष २०७९\८० मा ९७ हजार ७ सय जनाले सेवा लिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए । यो संख्या गेटा आँखा अस्पतालबाट मात्रै सेवा लिएका सेवाग्राहिको संख्या हो ।

भट्टका अनुसार सेवा लिने मध्य तीस प्रतिशत भारतिय नागरिक रहेका छन् । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालीत गेटा आँखा अस्पतालबाट गत आर्थीक वर्ष २०७९\८० मा अस्पताल र अन्तरगतका कार्यक्रमहरुबाट गरी जम्मा २ लाख ६४ हजार ९८२ जनाले सेवा लिएका छन् । जसमध्ये २४ हजार ८९५ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको भट्टले बताएका छन् । अस्पतालले अन्धोपन न्यूनीकरण गर्न विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग जुटाई अस्पतालमा दिईने सेवाको अतिरिक्त आँखा शिविर संचालन गरि निःशुल्क शल्यक्रिया गर्दै आईरहेको छ ।

गत वर्ष २०७९\८० मा यस अस्पतालले प्रदेशमा ४६ स्थानमा आँखा शिविर संचालन गरि २७ हजार ३१२ जनालाई निःशुल्क उपचार सेवा प्रदान गरेकोमा ३ हजार २३९ जनाको निःशुल्क शल्यक्रिया गरेको छ । अस्पतालले सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमै पुगी आँखा उपचार सेवामा पहुँच बढाउन महिला स्वास्थ्य स्वयंसेविका तालिम, शिक्षकहरुका लागि दृष्टि परिक्षण तालिम, स्वास्थ्य कर्मीहरु तथा औषधि व्यवसायीहरुका लागी तालिम संचालन गर्दै आईरहेको भट्टको भनाई छ ।

सन् १९८१ मा स्थापना भएको अस्पतालले स्थापनाकालमा रहेको यस क्षेत्रको १.२ प्रतिशत अन्धोपनलाई हाल ०.२१ प्रतिशतमा झार्न सफल भएको भट्ट को भनाईले बताए । हाल सुदूरपश्चिम नेपालका सबै प्रदेशमध्य न्यूनतम अन्धोपन भएको प्रदेशको रुपमा स्थापित भएको उनले बताए । गत १२ वर्ष पहिले सम्पूर्ण अन्धोपन मध्ये सबैभन्दा बढी मोतिविन्दुका कारणले ६२ प्रतिशत दृष्टिविहीन रहेकोमा हाल ३६ प्रतिशत मात्रै मोतिविन्दुको कारणले दृष्टि बिहिन भेटिएको उनले बताए ।
आँखा उपचार सेवामा पहूँच बढाउने उदेश्य सहित आँखा अस्पतालले गत वर्ष ३ स्थानमा आँखा उपचार केन्द्र स्थापना गरि सुदूरपश्चिमका ९ वटै जिल्लाहरुमा २३ वटा शाखा मार्फत सेवा बिस्तार गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.