चालु अधिवेशनबाटै गेटामा स्वास्थ्य विश्वविद्यालयको विधेयक पास गराउन माग

अत्तरिया : संघीय संसदको चालु अधिवेशनबाटै स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्वन्धि विधेयक पास गराउन माग गरिएको छ । शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत संघीय संसदका सभामुखलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
बुझाएको ज्ञापनपत्रमा गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणमा ढिलाई भएकाले यसलाई चाडो संचालनमा ल्याउन चालु संसदको अधिवेशनबाटै विधेयक पास गर्न माग गरिएको छ ।
‘संघीय राज्य सत्ताबाट पटक–पटक सुदूरपश्चिमेलीहरु प्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाको रुपमा गेटा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनमा भइरहेको ढिलाईलाई हामिले बुझेका छौं’ ज्ञापन पत्रमा भनिएको छ ।
गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल संचालनका लागि सरकारले २०७९ माघ २९ गते मन्त्रिपरिषदबाट निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सरकारले आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रममा समेत सुदूरपश्चिममा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापना गर्ने घोषणा गरिएको थियो ।
सरकारले असोज १६ गते गेटा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन सम्वन्धि बनेको विधेयकलाई मन्त्री परिषद्बाट अनुमोदन गरिसकेको छ ।
संघर्ष समितिले मन्त्री परिषद्बाट अनुमोदन भएको विधेयक चालु संसदको अधिवेशनबाट पास गर्न सभामुखको ध्यानाकषर्ण गराउन ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ सह–संयोजक आनन्द भट्ट र सचिव धर्मसिंह कुँवरको हस्ताक्षर रहेको अपिलमा विधेयक पास गरेर ६ सय शैय्याको अस्पताल समेत तत्काल सञ्चालन गर्न माग गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.