अत्तरिया : नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं दशौ महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन लडेका नेता भीमबहादुर रावललाई प्रदेश अधिवेशनमा आमन्त्रण नै नगरिएको पाइएको छ । आइतबारदेखि धनगढीमा सुरु हुने एमालेको प्रथम प्रदेश अधिवेशनमा नेता रावललाई आमन्त्रण नगरिएको हो ।
अछामका नेता रावल पछिल्लो समय पार्टीमा जिम्मेवारीविहीन छन् । चितवन महाधिवेशनपछि एमालेको राजनीतिमा किनारा लगाइएका रावल अहिले पनि पार्टीको कुनै जिम्मेवारीमा छैनन् । अहिले गृहजिल्ला अछाममा रहेका रावललाई प्रदेशको अधिवेशनमा पनि नबोलाइएको जनाइएको छ । पत्रकार सम्मेलनकाबीच एमाले सुदूरपश्चिमका इन्चार्ज छविलाल विश्वकर्माले रावललाई आमन्त्रण नगरिएको जानकारी दिए । उनले रावल राष्ट्रिय र केन्द्रिय नेता भएकाले प्रदेश अधिवेशनमा नबोलाइएको दाबी गरे । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, सचिवहरु र स्थायी कमिटी सदस्यसहितका अन्य केन्द्रिय नेताहरु भने अधिवेशनमा सहभागी हुने उनको भनाई छ ।
रावललाई अधिवेशनमा नबोलाएर निषेध गरिएको उनी निकटस्थको आरोप छ । चितवन महाधिवेशनपछि एक पटक मात्र रावललाई पार्टीमा सक्रिय बनाउन ओली–रावल भेट भएकोमा त्यसपछि कुनै छलफल भएको छैन ।