धनगढी : ठूलो तामझाम र निकै रस्साकस्सीबीच शुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन अन्तत बालकोटको निर्देशनपछि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै टुंगिने भएको छ ।
प्रदेशमा नेतृत्व हत्याउन दुई समूहले प्यानलगत उम्मेदवारी दर्ता गरेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालकोटबाट पठाएको सूचि टास गर्दै अधिबेशन टुंगिने लगभग निश्चित भएको हो । बालकोटको निर्देशनपछि निर्बाचन प्रकृया रोकेर नेताहरु प्रदेश समितिको सूचि टास्न अन्तिम छलफलमा जुटेका छन् । कसलाई कुन पद दिने करीव टुंगो लागिसकेको छ, एक नेताले भने, त्यसपूर्व नेताहरुबीच अन्तिम छलफल भईरहेको छ ।
अध्यक्षमा अछामका कृष्ण प्रसाद जैशी, उपाध्यक्षमा बाजुरा कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कैलालीका नेपालु चौधरी र कञ्चनपुरकी कलशा महरालाई सर्वसम्मत बनाउने तयारी छ । यी नामहरू अध्यक्ष ओली निर्देशनमा चयन भएका हुन् ।
सर्वसम्मतको लागि ल्याइएको नामहरू विरुद्ध निर्वाचनमा जाने तयारी गरे ती पदहरूमा निर्वाचन हुन सक्ने सम्भावना पनि रहेको छ। अध्यक्षमा चार जना उम्मेदवार छन् । जैशीलाई अध्यक्ष बनाउँदा अर्का उम्मेदवार कमल तिमिल्सिनालाई केन्द्रीय सदस्य बनाउने पनि करिब टुङ्गो लागिसकेको छ । ती बाहेकका उम्मेदवार वचन बहादुर सिंह र भरत साउदलाई पनि पार्टी कमिटीले व्यवस्थापन गर्ने आश्वासन दिएको छ ।
तर अध्यक्षका उम्मेदवार सिंहले आफूहरू निर्वाचन प्रक्रिया बाट फिर्ता नहुने बताएका छन् । साँउदले भने सहमतिको खाका ल्याएपछि छलफल अगाडी बढ्ने बताए । सुदूरपश्चिममा ओली निकट मानिने कर्ण बहादुर थापा र दामोदर भण्डारीकै बीचमा समूहगत प्रतिस्पर्धा भईरहेको थियो । दुई जनाले आफ्ना निकट नेताहरुलाई उम्मेदवार बनाएका थिए । अर्का नेता लेखराज भट्टले भने दुबै समूहबाट आफू निकट नेता तथा कार्यकर्ताहरुलाई प्रदेश समितिमा ल्याउन मध्यमार्गी भूमिका खेलिरहेका छन् ।