अत्तरिया : धनगढीमा जारी नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन सहमति नजिक पुगेको छ । निर्वाचन प्रक्रिया अघि बढे पनि सहमतिबाटै पदाधिकारी चयन गर्न केन्द्रको निरन्तरको दबाब पछि नेताहरू सहमति नजिक पुगेको जनाएको छ । यो समाचार तयार पर्दा सम्म अध्यक्षको टुंगो लगाएको छैन् ।
उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । अहिलेसम्म अध्यक्षमा मनोनयन दर्ता गराएका बच्चन सिंह र कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कमिटीको कार्यालयले सिंह र तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
नेताहरूका बिचमा अछामका कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भए पनि अछामकै भरत साउदको उम्मेदवारी कायम छ । साउदसँग अहिले संवाद भइरहेको छ । साउदले आफूले भनेका दुई जनालाई उपसचिव बनाउनुपर्ने सर्त अघि सारेका छन् । उनले नरबहादुर विक र भागीरथी विष्टलाई उपसचिव बनाउनुपर्ने बताएका छन् । सचिवमा पनि दुई जनाको उम्मेदवारी कायमै रहेको छ ।
रणबहादुर चन्द र रतनराज रेग्मी प्रत्याशी छन् ।
सचिव पदका उम्मेदवार जीवन बम र उपसचिव पदका उम्मेदवार पल्लभराज भट्टले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन् । उपसचिवमा भागीरथी विष्ट, चन्द्रकला राना, अशोक चन्द, नरबहादुर विक, रामरत्न जोशी र सुरेन्द्र पाल प्रत्याशी छन् । अध्यक्षमा जैसी, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी नेताहरू छलफलमा छन् ।