इजरायलमा मृत्यु भएका जोशीपुरका आशिषको अन्त्येष्टि

धनगढी : सबैतिर दसैंको रमाइलो भइरहेको बेला कैलालीको जोशीपुर गाउँपालिका–५ मैनपोखरी गाउँ भने शोकमा डुबेको छ । लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका सो गाउँका २६ वर्षीय आशिष चौधरीको हमास आक्रमणमा परी मृत्यु घटनाका कारण मैनपोखरीलाई दसैंले छुन नसकेको हो । परिवारको एक्ला छोरा एवम् घरको सहारा आशिषको शरीर दसैंमा घर फर्कियो, तर मान्यजनबाट कहिल्यै टीका नथाप्ने र आशिष ग्रहण नगर्ने गरी । बाकसमा आएको आशिषको पार्थिक शरीर मैनपोखरी गाउँस्थित घैला खोलामा आज सदाको लागि बिलिन भएको छ । स्थानीयका अनुसार आशिषको छाती र जाँघमा गोली लागेको थियो ।
सबैतिर दसैंको रमझमले छोएको बेला आशिषलाई सदाका लागि बिदाई गरेको उनका साथी अभिमन्यु चौधरीले बताए । परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर इजरायल पुगेका आशिषको निधनले घरमा अँध्यारो छाएको छ । परिवारको एक्ला छोराको वियोगमा आशिषका बाआमा विक्षिप्त हुनुहुन्छ । सन्तानको रुपमा आशिष र उनको दिदी अमृतामात्रै रहनू भएको थियो ।

लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इन्टर्नका लागि इजरायल पुगेका १० जना विद्यार्थीको हमास आक्रमणबाट ज्यान गएको थियो । मृत्यु भएकाध्ये चार जनाको शव हिजो नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको हो । केही हप्तापछि शव पाएका परिवारले आज अन्त्येष्टि गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.