नक्सा पास बिनाका संरचना भत्काउदै धनगढी उपमहानगर

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर १ पार्कमोडमा रहेको अमित प्लाजा रहेको घरमा बनेको अवैध संरचना भत्काइएको छ। शनिवार उपमहानगरले स्थानीय दुष्यन्त बस्नेत र प्रदिपकुमार अग्रवालको नाममा दर्ता रहेको जग्गामा बनेको घरका अवैध संरचना हटाइएको हो। घरधनी बस्नेत र अग्रवालले धनगढी उपमहानगरपालिकाबाट नक्सा पास नगरी घरमा तला थपेको र संरचना निर्माण गरेको पाइएपछि ती अबैध संरचना नगर प्रहरी र डोजरको सहयोगमा भत्काइएको हो।
अवैध संरचना हटाएर सडक क्षेत्राधिकार र नाला निकासको अवरोध हटाउन उपमहानगरपालिकाले घरधनीका नाममा मंसिर १४ गते अन्तिम पत्र काटेको छ। सडक चौडा बनाउन र नालीको निकास व्यवस्थित बनाउन अवैध संरचना हटाउनु परेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

घरधनीले उपमहानगरपालिकाबाट अढाई तलाको नक्सा पास गरेको भएपनि तेस्रो तलामा ट्रस निर्माण गरेको, भवनको पूर्वतर्फ सडकमा ४ फिट २ इन्च छज्जा र छज्जामा बनेको स्टोर रुम र वाथरुम समेत सडक क्षेत्राधिकारभित्र परेको उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ। उपमहानगरको सूचनामा घरधनीले पेस गरेको सफाइमा पनि नक्सा पास गरेको भन्दा बढी संरचना निर्माण गरेको स्वीकार गरिएको र उक्त कार्य कानुन विपरीत देखिन आएको हुँदा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम अवैध भएकाले संरचना भत्काउनु परेको उपमहानगरले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.