धनगढी, १८ मंसिर : नृत्य र गायन विधाको सुप प्रदेशस्तरीय प्रतियोगिता एसईई आईडल–३ मा प्रदेश युवा परिषद्, सुदूरपश्चिम मुख्य प्रबद्र्धकका रुपमा जोडिएको छ ।
युवाहरुको चौतर्फि विकासका लागि क्रियाशील प्रदेश युवापरिषद् सुदूरपश्चिम र एसईई आइडल आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्टका बीचमा भएको सम्झैता अनुसार एसईई आइडलको तेस्रो संस्करणमा आयोजकले मुख्य प्रबद्र्र्धकको रुपमा प्रदेश युवा परिषद्को साथ पाएको हो ।
यस कार्यक्रमले सुप भरिका युवा विद्यार्थीहरुको क्षमताको प्रबर्धन गर्ने र युवाहरुमा डर लाग्दो तरिकाले मौलाईरहेको लागुपर्दार्थ दुव्र्यसनीबाट पनि युवाहरुलाई टाढा राख्न केही हदसम्म मद्दत गर्ने हुनाले यस कार्यक्रमलाई साथ दिएको प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताएका छन् ।
एसईई आईडलका सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरु आयोजना हुनेछन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । यस बर्षको असोजदेखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धीहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ५०–५० हजार र रु. २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् ।
साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ भने यस संस्करणका अडिसनहरु पनि आयोजना भईरहेका छन् ।