धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यहाँको विकास र समृद्धिका लागि प्याकेज ल्याउन अनुरोध गरेका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजनामा शुक्रबार देखि सुरु भएको सुदूरपश्चिम महोत्सवमा आफ्नो धारणा राख्दै यस्तो अनुरोध गरेका हन् ।
‘सुदूरपश्चिम संभावनाको समारोह हो । उत्साह र सपनाको समारोह हो । त्यसर्थ म यहाँ संभावनाको कुरा गर्न चाहन्छु । सपनाको कुरा गर्न चाहन्छु । कृषि, उद्योग, जडिबुटी, जलस्रोत, धार्मिक तथा प्राकृतिक पर्यटनको प्रचुर संभावना बोकेको क्षेत्र हो । हामीले यसका संभावनाका बारेमा धेरै चर्चा गर्यौ । अव यी संभावनालाई साकार पार्नुछ । त्यसका लागि सम्माननीय प्रधानमन्त्री ज्यूसंग यसको क्षेत्रको समग्र विकास र समृद्धिका लागि बिशेष प्याकेजका लागि हार्दिक अनुरोध गर्दछु’, उनले भने । ‘यस क्षेत्रमा लगानी गर्न ईच्छुक, व्यक्ति र व्यवसायीलाई सहुलियित दरमा ऋण उपलब्ध गराउन र अनुरोध गर्दछु । सुदूरपश्चिम जलस्रोतको अथाह संभावना बोकेको प्रदेश हो । जसबाट देशकै आर्थिक कायापलट हुनेमा कुनै दुबिधा छैन । पञ्चेश्वर, पश्चिम सेती, अपर कर्णाली जस्ता महत्वपूर्ण जलविद्युत आयोजनाको निर्माणमा जोड दिन आग्रह गर्दछु ।’
कोभिड १९ ले थला परेको अर्थतन्त्र उकालो लाग्ने आसमा रहेका व्यवसायी र आम जनता पछिल्लो समयमा बैंकको चर्को व्याज र आर्थिक मन्दीको मारमा परेका मन्त्री देउवाले उल्लेख गरे । ‘दार्चुलाको विकट तिंकर होस वा बाजुराको अति विकट विच्छ्या, रुगिन र साप्पटाका जनताका दैनिक समस्यासंग पनि सम्माननीय प्रधानमन्त्री अवगत हुनुहुन्छ’ मन्त्री देउवाले भने ।
सुदूरपश्चिम क्रिकेटको उर्वरा भूमि हो । जसले राष्ट्रिय स्तरमा दर्जनौ खेलाडीहरु जन्माएको छ । क्रिकेटको विकास र क्रिकेट मार्फत खेल पर्यटन प्रबद्र्धनका लागि फाप्लालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउन सरकारसंग मन्त्रीले माग गरे ।
भारतीय नाकासंग जोडिएको धनगढीस्थित त्रिनगर भन्सार कार्यालयमा रहेको प्लान्ट क्वारेण्टीन साउन २८ गतेदेखि बन्द हुँदा यस क्षेत्रका उद्योगी व्यवसायी मारमा परेको स्मरण गराउदै यथाशिघ्र प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि पहल गरिदिन प्रधानमन्त्रीसंग मन्त्री देउवाले आग्रह गरे ।
रोजगारीको अवसर सृजना अहिले सुदूरपश्चिम प्रदेशका लागि अति आवश्यक छ । त्यसका लागि कञ्चनपुरको दैजीमा शिलन्यास गरिएको औद्योगिक क्षेत्र र दोधरा र चाँदनीमा निर्माण गर्ने भनिएको सुख्खा बन्दरगाहको निर्माण यथाशिघ्र गर्न सम्माननीय प्रधानमन्त्री समक्ष उनले माग राखे ।
‘धार्मिक र प्राकृतिक रुपमा अति महत्वपूर्ण सुदूरपश्चिम जैविक बिबिधता, भौगिलिक बिबिधता, जातीय बिबिधता र सांस्कृतिक हिसावले पनि अति महत्वपूर्ण प्रदेश हो । यसको बैभव र गौरवपूर्ण ईतिहास छ । सम्माननीय प्रधानमन्त्री यसको ईतिहास र महत्वका बारेमा जानकार हुनुहुन्छ’ उनले भने ।
दार्चुलाको तिंकर र बझाङको उरै नाकालाई चीनको ताक्लाकोटसंग सडक सञ्जालमा जोड्न सके सुदूरपश्चिमको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने मन्त्री देउवाको विश्वास छ । त्यसका लागि दुबै जिल्लामा निर्माणाधीन ताक्लाकोट जोड्ने सडकका लागि पर्याप्त बजेट बिनियोजनका लागि सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
गेटा मेडिकल कलेजलाई यथाशिघ्र सञ्चालनमा ल्याउन र सुदूरपश्चिम विश्व विद्यालयलाई पूर्णता दिई विश्वसनीय बनाउन यसै मञ्च मार्फत सम्माननीय प्रधानमन्त्रीसंग उनले आग्रह गरे । धनगढी बिमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा स्तरोन्नतीका लागि आवश्यक बजेट बिनियोजन गरी जग्गा अधिग्रहण र निर्माण अविलम्ब थालनी गर्न मन्त्री देउवाले आग्रह गरे ।
सुदूरपश्चिम प्रदेश सरकारले फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागेको सम्माननीय प्रधानमन्त्रीलाई मन्त्रीले देउवाले अवगत गराए । लगानी तथा विकास सम्मेलनलाई सफल बनाउन संघीय सरकारबाट पूर्ण सहयोग, साथ, सुझाव र आवश्यक निर्देशनको अपेक्षा रहेको उनले बताए ।
संघीय सरकारका नीतिलाई अक्षरशः पालना गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकार सदैव आफ्नो त्यो दायित्वमा अडिग रहेको मन्त्री देउवाले उल्लेख गरे ।