अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिममा ‘घण्टीमित्र’ अभियान सुरु गरेको छ । बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले अभियान सुरु गरिएको घोषणा गरेको हो । रास्वपा प्रति आस्थावान व्यक्तिलाई पार्टीमा जोड्नका लागि ‘घण्टीमित्र’ अभियान सुरु गरिएको रास्वपाका प्रदेश प्रवक्ता सन्तोष जोशीले बताए । उनले पार्टीको सदस्यता नलिएका तथा लिन नसक्ने व्यक्ति यस अभियानमा जोडिने बताए ।
अभियानमा जोडिनका लागि प्रदेश समितिले कार्यविधि बनाएर १ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ । यस्ता ‘घण्टीमित्र’ सदस्यहरू पार्टीका गतिविधि, बहस, छलफलमा सहभागि हुन पाउने भएपनि पार्टीको अधिवेशनमा उम्मेदवार र भोटर भने बन्न नपाउने प्रवक्ता जोशीले बताए । उनले पार्टी सदस्यता शुल्क तिर्न नसकेर पार्टीमा जोडिनबाट बञ्चित भएकाहरू पनि यो अभियानमार्फत जोडिन सक्ने बताए ।
उनले आर्थिक अभावका कारणबाटै पार्टीमा जोडिन नसकेकाहरुलाई ‘घण्टीमित्र’ अभियानले समेट्ने बताए । उनले ‘घण्टीमित्र’ अभियानमा जोडिएकाहरुले पछि सहजै पार्टीको सदस्यता लिन सक्ने बताए । यस अभियानबाट एउटा नयाँ समुह निर्माण हुने उनले बताए । ‘घण्टीमित्र’ अभियानमा जोडिएकाहरुलाई पार्टीको कार्ड दिइने छ । ‘घण्टीमित्र’ अभियानबाट संकलन भएको रकम प्रदेश खातामा जम्मा गरेर पछि ७० प्रतिशत पालिकामा फिर्ता गरिने जनाइएको छ । ३० प्रतिशत रकम भने प्रदेशमा रहने छ ।
पार्टीको साधारण शुल्क १ हजार हुँदा पार्टी धनाड्य वर्गको मात्रै भयो भन्ने भ्रम चिर्न पनि ‘घण्टीमित्र’ अभियान सुरु गरिएको प्रवक्ता जोशीले बताए । यद्यपि पार्टीले सिफारिस गरेको आधारमा निःशुल्क सदस्यता लिने व्यवस्था रहेको उनको भनाइ छ । रास्वपाकी प्रदेश कोषाध्यक्ष जसु भट्टले पार्टीप्रति आस्थावान भएर पनि कुनै कार्ड अथवा चिनो नभएको गुनासो गर्ने व्यक्तिलाई ‘घण्टीमित्र’ अभियानले जोड्ने बताइन् । जनताबाट आएको आवाजलाई सम्बोधन गर्न ‘घण्टीमित्र’ अभियान सुरु गरिएको उनले बताइन् । उनले यो अभियानबाट संकलन गरिएको रकम बिभिन्न विपतजन्य प्रकोपमा खर्च गरिने बताइन् ।
वडाहरुमा संगठन विस्तार गर्ने क्रममा धेरै मानिस जोडिएका भएपनि सदस्यता शुल्क महङ्गो भएकै कारण पार्टीमा आवद्ध नभएकालाई ‘घण्टीमित्र’ अभियानले जोड्ने रास्वपाका गोदावरी नगर सचिव भानदेव पनेरुले बताए ।