सुदूरपश्चिमको मुद्दामाथि धावा बोलेपछि अनसन बस्न नदिएको हो : संघर्ष समिति

डाक्टर केसीको अनसनविरुद्ध प्रदर्शन

अत्तरिया, ३० मंसिर : शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले डाक्टर गोविन्द केसी प्रदेशबासीको माग विपरीत देखिएकाले गेटा मेडिकल कलेजमा अनसन बस्न नदिएको जनाएको छ ।
शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष समितिले गेटामा ६ सय शैयाको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशबासीको माग विपरीत केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनसन बस्न नदिएको समितिले जनाएको छ ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले डाक्टर केसीलाई छ सय शैयाको अस्पतालसहितको मेडिकल विश्वविद्यालयको मागलाई समेत समेट्न आग्रह गर्दा विश्वविद्यालयको पक्षधर होइन भनेपछि गेटामा अनसन बस्न नदिएको कुरा साँचो भएको बताए । उनले ६ सय शैयाको अस्पताल सञ्चालनको माग मात्र गरेको उनले बताए ।
‘उहाँलाई हामीले ६ सय शैयाको अस्पतालसहितको विश्वविद्यालयको माग पनि समेट्नुपर्यो भनेका थियौँ तर उहाँले म विश्वविद्यालय पक्षधर होइन । म यो माग हाल्दिन भन्नुभयो,’ पाण्डेले भने, ‘उल्टै हामीलाई प्रहरी प्रशासनले लगाएका मान्छे हौँ भनेर तुच्छ व्यवहार गर्नुभयो । त्यहाँबाट हामीले लखेटेको होइन । सुदूरपश्चिमको मुद्दामाथि धावा बोलेपछि हाम्रो क्षेत्रमा बस्न दिदैनौँ भनेकै हो ।’
सुदूरपश्चिममा राष्ट्रिय गौरवका पश्चिम सेती लगायतका परियोजना तुहिएका बेला सरकारले मेडिकल विश्वविद्यालय स्थापना गर्न प्रक्रिया अघि बढाएर प्रदेशबासीलाई न्याय गरेको उनी बताउँछन् । सुदूरपश्चिमबासीको मुद्दामा धावा बोल्नेलाई प्रदेशबासीले बहिष्कार गर्ने उनको भनाई थियो ।
यस्तै पत्रकार सम्मेलनमा संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले डाक्टर केसी प्रदेशबासीको भावना र संघर्ष समितिको आन्दोलनको मर्म विपरीत आएकाले अनसन बस्न नदिएको बताए ।
‘लामो समयदेखि मेडिकल विश्वविद्यालय चाहियो भनेर यहाँका जनता संघर्ष गरिरहेका छन् । अहिले आएर उहाँले प्रतिष्ठान वा अन्य कुुनै अन्य ढंगले अघि बढाउनुपर्छ भनेपछि जनभावना र हाम्रो आन्दोलनको मर्म विपरीत गएकाले त्यहाँ (गेटा) मा अनसन बस्न नदिएकै हो,’ भट्टले भने, ‘मोडालिटीको विषय उठाउनु भनेको विश्वविद्यालयको मुद्दालाई विषयान्तर गर्ने काम हो । प्रदेशबासीको भावना विपरीत अरुको इसरामा बोल्ने छुट केसी मात्र होइन कसैलाई पनि छैन ।’
शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेका डाक्टर केसी संघर्ष समितिसँग विवाद भएपछि फर्किएका थिए । उनी साँझ नै धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसेका छन् ।
डाक्टर केसीको अनसनविरुद्ध प्रदर्शन
धनगढीमा प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनविरुद्ध प्रदर्शन गरिएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्ररदर्शन गरेको हो ।


संघर्ष समितिले डाक्टर केसीविरुद्ध नाराबाजी समेत गरेको छ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मी नारायण मन्दिरको धर्मशालामा अनसन सुरु गरेका छन् । सरकारले विगतमा गरेका सहमती कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डाक्टर केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेका थिए ।
तर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठीत संघर्ष समितिले अवरोध गरेपछि उनी धनगढी आएर अनसन बसेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.