अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ सुरु गरिएको छ। कृष्णपुर–४ बिन्द्रावनमा आइतबारदेखि राजमार्ग तथा समुदायमा छाडिएका पशुचौपाया व्यवस्थापनका लागि महायज्ञ संचालन गरिएको हो।
ग्वाँसी समैजी गौशाला व्यवस्थापन समिति र कृष्णपुर नगरपालिका वडा नं ४ को आयोजनामा महायज्ञ संचालन भएको हो। महायज्ञ उद्घाटनको दिन ११ सय कलससहित यात्रा निकालिएको थियो। महायज्ञको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सामुदायस्तरमा उत्पन्न भएको पशुचौपायाको समस्या समाधानका लागि गरिएको पहल सराहनीय भएको बताए। ग्वाँसी समैजी गौशाला व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर खड्काले छाडिएका पशुचौपायाको व्यवस्थापन गर्दै त्यसबाट बहुमुखी लाभ लिने उद्देश्यका साथ महायज्ञ संचालन गरिएको बताए।
कृष्णपुर नगरपालिका– ४ का वडाध्यक्ष धर्मबहादुर सिंहले छाडिएका पशुचौपायाको दीर्घकालिन व्यवस्थापनका लागि महायज्ञमार्फत सन्देश दिन अभियान संचालन गरिएको बताए। उनका अनुसार अहिले करिब सात सय पशुचौपाया व्यवस्थापनको काम भइरहेको छ। कृष्णपुर नगरका प्रमुख हेमराज ओझाले नगरपालिकाबाट उत्तरी क्षेत्र १ र ४ मा ठुलो परिमाणमा पशुचौपाया व्यवस्थापन कार्यक्रम अघि बढाउन खोजिएको बताए। मेयर ओझाले महायज्ञमार्फत नागरिकलाई गाईप्रतिको महिमा बढाउनेदेखि छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्न प्रोत्साहन गर्न खोजिएको बताए।