अत्तरिया, २९ फागुन : कैलालीको कर्णाली पुलमा गुड्दै गरेको ट्रकमाथि आगलागी भई पुलमा समेत क्षति पुगेको छ । सोमबार पूर्व (वीरगञ्ज) बाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी हुँदा ट्रक पूर्ण रूपमा जलेर नष्ट भई पुलको पूर्वपट्टी रहेका १४ वटा डोरी (लट्ठा) मा क्षति पुगेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले आगलागीबाट एक करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको ट्रकमा रहेको एक हजार एक सय कार्टुन लाइटर र नगद ५७ हजार रुपैयाँ क्षति भएको जानकारी दिए । ट्रकमा लागेको आगोले लठ्ठामा क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशलाई अन्य प्रदेशसँग जोड्ने कर्णाली पुल बन्द भएको छ ।
आगलागीले पुलमा पुगेको क्षतिबारे विज्ञ टोलीबाट अध्ययन भइरहेको सडक विभागले जनाएको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामहरि पोखरेलका अनुसार विज्ञ टोली पुल पुगेको छ । टोलीले बुधबार आज प्रारम्भिक प्रतिवेदन बुझाउने छ । ‘आगलागीबाट पुलमा कति क्षति भएको छ, त्यो कति जोखिमपूर्ण हो भन्नेबारे विज्ञ टोलीले अध्ययन गरिरहेको र त्यसपछि हामीले निर्णय गर्ने पोखरेलले बताए ।
कर्णाली पुलमा आवतजावत बन्द गरिएको छ । यसलाई विभागले गम्भीरता साथ लिएर अध्ययन गरिरहेको समेत उनले बताए । गम्भीरताका साथ अध्ययन गरिरहेकाले छिट्टै अध्ययन सकाएर प्रतिवेदन आउने उनले बताए । ट्रकमा आगलागी भएपछि चालकले ट्रक पुलमाथि नै छाडेर भाग्दा आगोले पुलमा क्षति गरेको हो । आगो नियन्त्रणमा लिन चार घण्टा लागेको थियो । ग्यास लाइटर बोकेको ट्रकसमेत जलेर नष्ट भएको छ । एकमात्र खम्बाको भरमा अडिएको यो पुल नमुना पुलका रूपमा चर्चित छ ।
खम्बासँग लठ्ठाको सहायतामा पुल अड्याइएको यो नमुना पुलका लठ्ठामा आगलागीबाट क्षति पुग्दा पुलको समग्र भौतिक संरचनामा असर पर्ने भएकाले विभागले विज्ञ टोली पठाएर अध्ययन गर्न लागेको हो । सडक विभिजन कार्यालय नेपालगञ्जको टिमसमेत सोमबार नै घटनास्थल पुगेर अवलोकन गरेको थियो । सडक विभागका प्रवक्ता पोखरेलका अनुसार कर्णाली पुलबाट सवारी आवागमन अवरुद्ध भएसँगै वैकल्पिक मार्ग प्रयोग गरी यातायात व्यवस्थापन गरिएको छ ।
सदूरपश्चिमबाट पूर्वतर्फ जाने र काठमाडौंसहित पूर्वबाट सुदूरपश्चिम जाने सवारी साधनलाई कैलालीको सत्ति पुलबाट आवतजावत गर्न सकिने गरी यातायात व्यवस्थापन मिलाइएको उनले जानकारी दिए । जापानी कम्पनीले सन् १९९३ मा कर्णाली पुल निर्माण सम्पन्न गरेको थियो । यो पुल ५ सय मिटर लामो छ । बीचमा ठडिएको अग्लो खम्बामा दुवैतर्फ स्टिलका लठ्ठाले बाँधेर पुल निर्माण गरिएको छ । नमुना डिजाइनका कारण यो पुल यातायात मात्र नभई पर्यटकका बीचमा समेत उत्तिकै लोकप्रिय छ । कर्णाली पुल बनेसँगै चिसापानी बजारको विकाससँगै पर्यटन प्रर्बधनमा टेवा पुगेको छ । यात्रु तथा सर्बसाधारण घुम्ने, सवारीसाधन रोकेर सेल्फी लिने, यहाँ कर्णाली नदीमा मारिएका माछा खान, पौडी खेल्न र ¥याफ्टिङ गर्न त्यहाँ पुग्ने गरेका छन् ।
सम्बन्धित पाेस्टहरु