बुवाको सपना साकार पार्छु : काँग्रेस उम्मेदवार अभिषेक

अत्तरिया : आसन्न उपनिर्वाचनमा बझाङ १ (१) का नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले स्वर्गीय बुवा पृथ्वीबहादुर सिंहले देखेको समृद्ध बझाङको सपना साकार पार्नु आफ्नो लक्ष्य रहेको बताएका छन् ।
उपनिर्वाचनमा मनोनयनपत्र दाखिला गर्न जाने क्रममा शुक्रबार (चैत्र २३ गते) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस उम्मेदवार अभिषेकले भने– मेरो बुवा जीवनपर्यन्त बझाङ र बझाङबासीको खुसी र समृद्धिमा समर्पित रहनु भयो । उहाँको असामयिक स्वर्गारोहणपछि उहाँको सपना पुरा गर्ने जिम्मेवारी मेरो पनि हो । उनले आफूलाई बझाङ काँग्रेसका सबै अग्रज नेताहरू सबैको आशिर्वाद र सहयोग आफूलाई प्राप्त भएको बताए । “उहाँहरू सबै मेरा अभिभावक हुनुहुन्छ, सधै आशिर्वाद र स्नेह पाएको छु” उनले भने ।
तपाईंको मुख्य प्रतिवद्धता र कार्यक्रमहरू के हुन् ? पत्रकारहरूको एक जिज्ञासामा उनले भने– मुल रुपमा बझाङ र त्यहाँका जनताको समृद्धि नै मुल लक्ष्य हो । मैले साइपाल नाका सञ्चालनलाई प्राथमिकतामा राखेको छु ।
उनले आफु नेविसंघ हुँदै लामो समयदेखि काँग्रेसको राजनीतिमार्फत समाजसेवामा समर्पित रहेको चर्चा गरे । भने– अग्रज नेताहरूको तुलनामा मेरो राजनीतिक जीवन कम होला, तर म स्वर्गीय बुवाको पदचिन्ह पछ्याउँदै राजनीति र समाजसेवा निरन्तर लागेको छु । पत्रकार सम्मेलनमा काँग्रेसका प्रदेश सांसद बिक्रमसिंह धामी, काँग्रेस बझाङका उपसभापति बर्कबहादुर रोकाया, तथा अन्य नेता, कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
गत निर्वाचनमा बझाङ १ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार पहिलो साता सडक दुर्घटनामा निधन भएपछि सो सिट रिक्त भएको थियो । बझाङ १ (१) मा आगामी बैशाख १५ गते उपनिर्वाचन हुँदैछ । आज उम्मेदवारहरुको मनोनयनपत्र दाखिला गर्ने कार्यक्रम रहेको छ । सो उपनिर्वाचनका लागि नेकपा एमालेबाट दमन भण्डारी र एकीकृत समाजवादीबाट दिलबहादुर सिंह उम्मेदवार रहेका छन् । माओवादी केन्द्रबाट जनक बुढालाई उम्मेदवारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.