सामुदायिक वनको खाली जमिनमा विरुवा रोपीदैँ

अत्तरिया : कैलाली र कञ्चनपुरमा छाडाचौपायाले गर्दा बोट विरुवा जोगाउन मुश्किल छ । त्यसको असर सामुदायिक वनमा पनि परेको छ । सामुदायिक वनमा रोपीएका विरुवा रोप्न हम्मेहम्मे परेपछि तराई भू–परिधि कार्यक्रम (ताल) र स्थानीय पालिकाहरुले वनमा तारबारमा गरिदिने गरेका छन् ।
कञ्चनपुर पुर्नवास नगरपालिका–१० मा रहेको भीम सामुदायिक वनले खाली ठाउँमा बोट विरुवा रोप्ने गरेको छ । ‘सामुदायिक वनको खाली क्षेत्रमा बोट विरुवा रोप्ने गरेका छौँ’ भीम सामुदायिक वनका अध्यक्ष प्रेम थापाले भने । ‘पहिले विरुवा जोगाउन गाह्रो थियो । अहिले ताल वडा पालिकाले तारबार गरिदिएपछि सहज भएको छ ।’ उनले छाडा चौपाया मुख्य समस्या रहेको बताए ।
लोपोन्मुख अवस्थामा पुगेको दुर्लभ वनस्पति विजयसाल ४ सय विरुवा रोपेको थापाले बताए । विजयसाल औषधिय महत्व र शिल्पकारहरुले काठका भाँडाकुँडा बनाउने काममा महत्वपूर्ण मानिन्छ । औषधिय गुण भएको विजयसाल दुर्लभ वनस्पति मानिन्छ । चोरी फँडानी र तस्करीका कारण मासिदै गएको विजयसाल जोगाउने प्रयास गरेको अध्यक्ष थापाले बताए ।
चोरी फँडानी र वन माफियाको चंगुलबाट विनास हुँदै गएको विजय साल अहिले फस्टाउदै गएको स्थानीय चन्द्रसिंह धामीले बताए । कुनै बेला खुला चरीचरण र फँडानीको मारबाट विनास खेप्दै आएको विजयसालको संरक्षणमा स्थानीय बासिन्दाको हातेमालोमा घना बनाउदा निकै चुनौती खेप्नु परेको उनको भनाई छ ।
लालझाडी राष्ट्रिय वन संगै जोडिएको भिम सामुदायिक वन विजय सालले मात्रै होइन हात्ती, बदेल, खरायो र मृग लगायत वन्यजन्तुको समेतले प्रसिद्ध छ । चोरी सिकारी, वन फँडानी कम भए पनि केहि वन्यजसन्तुले गर्दा हुर्कदै गरेका विजय सालका विरुवाको मुन्टा काट्ने कारण वन विकासमा चुनौती थपिएको स्थानीय धामीले बताए ।
वनको संरक्षण र चोरी फडाँनी नियन्त्रणमा चौबिसै घन्टा खटिए पनि जनचेतना र विजयसालको महत्व बुझ्न नस्क्दा स्थानीय उपभोक्ताहरुले घाँस काट्दा विजय सालको मुन्टा काट्ने गरेको स्थानीयले बताएका छन् ।
आर्थिक उपार्जन र विजयसाल उत्पादन क्षेत्रका रुपमा विकसित बनाउने प्रशस्त सम्भावना रहेको यस वनको विकास र विस्तारमा आश लाग्दो प्रयत्न गरिए पनि छाडा चौपाया, स्थानीय उपभोक्ताको हेलचक्र्याई, अप्रयाप्त जनशक्ति र सिमित श्रोत साधन प्रभावकारी संरक्षणका चुनौती छ । जिल्लाको दक्षिण भेगमा रहेको यस क्षेत्रमा विजय साल र वन विकासमा स्थानीयहरु सक्रिय भएका छन् । सामरिक महत्वको यो वनलाई विजयसाल पकट क्षेत्र बनाउन सम्बन्धित सरोकारवालाको ध्यान जान सके आर्थिक उपार्जन र पर्यटन क्षेत्र विकासमा सहयोग पुग्ने विश्वास गरेको छ । भीम सामुदायिक वनको ४ सय ८६ वटा उपभोक्ता रहेका छन् । यो वन ८५ हेक्टरमा फैलिएको छ ।
यस्तै पुर्नवास वडा नम्बर ११ मा पर्ने अमरकृष्ण सामुदायिक वन पनि तारबारको सुरक्षा भएपछि थुप्रै प्रकारका विरुवा रोपेको छ । चरीचरणले गर्दा स–सना बोट विरुवाहरु हुर्कीन चुनौती भएपछि वन क्षेत्रमा काम गर्दै आएको संस्था तालले तारबार गरेदिएपछि वृक्षारोपण गर्न आट आएको अमरकृष्ण सामुदायिक वनका अध्यक्ष प्रेम वानियाँले बताए । वडा नम्बर १० मा रहेको भीम सामुदायिक वनसंगै जोडिएको अमरकृष्ण सामुदायिक वन १ सय ६ हेक्टरमा फैलिएको छ । यहाँ तारवार भएपछि छेउसम्म नै हरियाली बनाउन सफल भएको अध्यक्ष बानियाँले बताए । ‘तारवार नहुँदा विरुवा जोगाउन हेरालु राख्दा पनि भित्र सम्म वन उजाड हुन्थ्यो । अहिले वनको छेउसम्म हरियाली भएको छ ।’, उनले भने । ‘यसले गर्दा उपभोक्ता पनि उत्साहित भएका छन् । रोपीएका विरुवा पनि जोगिएका छन् । ४ सय ३४ घरधुर रहेको यस क्षेत्रका २१ सय उपभोक्ता रहेको बानियाँले जानकारी दिए । वनको सवै खाली ठाउँमा वृक्षारोपण गरिएको उनले बताए । लिप्टिस, जामुन, बाँस, आम लगायतका विरुवा रोपीएका छन् । ‘वन जोगाउन चुनौती रहेको छ ।’, बाँनियाले भने । ‘अहिले उपभोक्ता पनि सचेत भएको हुँदा केहि सहज भएको छ । वनमा बन्यजन्तुलाई सहज भएको छ । बन्यजन्तुका लागि पानी खान सहजताका लागि कृत्रिम ताल समेत बनाएका छौँ ।’
त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको ऐश्वर्य सामुदायिक वनमा पनि बन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरणका लागि तारबार गरिएको छ । तालको आर्थिक सहयोगमा तारबार गरिएको हो । यहाँका उपभोक्ताहरुले अम्रेसो खेती गर्ने गरेका छन् । चुरेको फेदमा रहेको यो सामुदायिक वनमा स्थानीयहरुले अम्रेसो खेतीबाट मनग्य आम्दानी गर्ने गरेका छन् । ऐश्वर्य सामुदायिक वनका अध्यक्ष ईश्वरबहादुर बुढाले बन्यन्तुले नोक्सान नगरेमा एक सिजनमा ३० लाख सम्म आम्दानी गर्ने उनले बताए । ३५ हेक्टरमा अम्रेसो खेती गरिएको छ । अम्रेसोबाट झाडु बनाउने गरिन्छ । ‘हात्तीले नोक्सान गरेन भने एक सिजनमा ३० लाख सम्म पनि आम्दानी हुन्थ्यो’, उनले भने । ‘तर, जतिसुकै गर्दा पनि हात्तीबाट बचाउन सक्ने अवस्था छैन् । नोक्सान गर्यो त्यसले गर्दा ४ देखि ५ लाखको मात्र झाडु बनाएको हो ।’ अम्रेसो फूल्ने समयमा हात्तीले नोक्सान गर्ने गरेको स्थानीय हरुको भनाई रहेको छ । वथान सहित हात्ती चर्न आउने गरेको स्थानीयहरुले बताएका छन् । तालिम प्राप्त व्यक्तिबाट झाडु निर्माण गरेर बजारसम्म पुगाउने गरेको सामुदायिक वनले जनाएको छ । ३ सय ९२ हेक्टरमा फैलिएको ऐश्वर्य सामुदायिक वनको उपभोक्ता ७ सय ८७ रहेका छन् । स्थानीयहरुले अम्रेसो कटिङ गर्नका लागि मेसिन भएको भए व्यवसायी गर्न अझ सहज हुने बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.