गोदावरी नगरको दुई स्थानमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको दुई स्थानमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएको छ। बुधवार नगरपालिकाको वडा नम्बर ११ र १२ मा स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको हो।

गोदावरी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयको जनश्रमदानबाट वडा नम्बर ११ को राम मन्दिर र १२ को कोल्मुडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन निर्माण गरिएको थियो। दुबै स्थानमा नगर प्रमुख वीरेन्द्र भट्टले आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका हुन्।

कार्यक्रममा नगर प्रमुख भट्टले पालिकामा विकास निर्माणका काम गर्न प्रतिबद्ध भएर लागि रहेको बताएका छन्। उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन एक वडा एक चिकित्सक कार्यक्रम मार्फत सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच विस्तार गरिने बताएका छन्। उनले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा नगरपालिकाको सबै वडामा दिन प्रतिबद्ध रहेको बताएका छन्।

गोदावरी नगरपालिकाले मेयरसँग जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत घरदैलोमा नै पुगेर स्वास्थ्य चेकजाँच र औषधी वितरण गर्दै आएको छ। यस्तै, सुरक्षित प्रसूतिका लागि दुर्गम क्षेत्रमा बर्थिङ सेन्टर सञ्चालनमा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.