अत्तरिया, २३ भदौ : कैलालीको धनगढीमा श्रीमद् सप्ताह ज्ञान विज्ञान महायज्ञको हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा मानवसेवा आश्रमको भवन निर्माण गर्न श्रीमद् सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना हुने भएको हो ।
मानव सेवा आश्रमले धनगढीमा आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २३ देखि २९ गतेसम्म महायज्ञको आयोजना गर्न लागेको जनाएको छ ।
मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले धनगढीमा आश्रमको भवन निर्माणका लागि रकम सङ्कलन गर्न महायज्ञको आयोजना गर्न लागिएको बताए । भागवत भाष्कर कमल नयन गौतमले महायज्ञमा कथा बाचन गर्ने भएका छन् । बिहान साढे ४ बजेदेखि ७ बजेसम्म सात दिन महायज्ञ पंडालभित्र योग शिविर सञ्चालन हुनेछ ।
विद्यार्थीहरूलाई बिहान ११ देखि २ बजेसम्म मानसिक स्वास्थ्य, दुव्र्यसन सम्बन्धी सचेतना एवं उत्प्रेरणामूलक कार्यक्रम रहने आयोजकले बताएको छ । बिहान ११ देखि ४ बजेसम्म सङ्गीतमय कथा प्रवचनको कार्यक्रम रहनेछ । साँझ ७ देखि ९ बजेटसम्म विभिन्न सचेतना मूलक श्रव्यदृश्य कार्यक्रम र भनजकिर्तनको कार्यक्रम हुनेछ ।
महायज्ञमा संघीय, प्रदेश सरकार, स्थानीय तहहरु, संघ÷संस्था, नागरिक समाजसँगै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय व्यक्तिलाई कार्यक्रममा निमन्त्रणा गरिने आयोजकले जनाएको छ । धनगढीमा २०७५ सालमा मानव सेवा आश्रमले ११ औँ शाखा विस्तार गरेको थियो ।
आश्रमले तीन ठुला संरचनाहरू निर्माण गर्ने ३७ करोडको योजना बनाएको संस्थापक अधिकारीले बताए । उनले दुई करोड खर्चेर भौतिक संरचना निर्माणको काम पूरा भएको बताए । बाँकी रकमको जोहो गर्न महायज्ञको आयोजना गर्न लागिएको उनले बताए ।
मानव सेवा आश्रम धनगढी शाखाले अभिभावक परिवार गठन गरेको छ । अभिभावक परिवारको संयोजकमा सिद्धराज पनेरु चयन भएका छन् । सह–संयोजकमा कमानसिंह धामी र अम्बिका भण्डारी चयन भएका छन् ।
जनसम्पर्क समिति एवं मासिक सहयोग प्रवद्र्धन समितिको संयोजकमा मदन कुँवर, भोजन सेवा प्रवद्र्धनमा पुस्कर अवस्थी, जिन्सी सामग्री सहयोगमा तिलक चन्द खतिवडा, अक्षयकोष श्रीवृद्धि समितिको संयोजकमा श्यामराज श्रेष्ठ, उद्धार र पारिवारिक पुनः मिलनमा कमलसिंह धामी, औषधी उपचार समन्वय समितिमा डाक्टर प्रभात सापकोटा, भवन निर्माण समितिमा राजेन्द्रराज पन्त चयन भएका छन् ।
त्यस्तै स्वयंसेवक व्यवस्थापन तथा परिचालन समितिमा कमल ढाँट, तीर्थयात्रा एवं मनोरञ्जन कार्यक्रम आयोजना समितिमा अम्बिका भण्डारी, मुठ्ठी दान सङ्कलन तथा दान बाकस व्यवस्थापन समितिमा धर्मराज कोइराला चयन भएका छन् ।
सम्बन्धित पाेस्टहरु