अत्तरिया : सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले धनगढी विमानस्लथको गेटको ‘गेटामा मेडिकल शिक्षाको पढाई कहिले देखि हुन्छ ? भन्ने नारा सहित बोर्ड टाँस गरेको छ । दुबैतिर सरकार र नेताहरुको ध्यानाकर्षण हुने गरी बोर्ड टाँस गरेको हो ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगा’ को नेतृत्वमा धनगढी अत्तरियाका युवाहरुले ६ लेन सडकबाट धनगढी विमानस्थल जाने मूल गेटको दुबैतिर बोर्ड टाँस गरेका हुन ।
‘संघीय सरकारका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री र नेताहरु यही बाटो आउने जाने गरेका तर गेटाका बारेमा बेवास्ता गरेको पाइएकाले उनीहरुको ध्यानाकर्षण होस भनेर बोर्ड टाँस गरेका हौं’ संघर्ष समितिका संयोजक पाण्डेले भने ।
शुक्रबार मात्रै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पार्टीको सुदूरपश्चिम स्तरीय प्रशिक्षणका लागि धनगढी आईरहेका छन । केही दिनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि धनगढी उपमहानगरको कार्यक्रममा सहभागि हुने आउने भएका छन ।
‘हामीले ती नेतृत्वमा बसेकाहरुले कम्तिमा पनि त्यो ब्यानर हेरुन, यस क्षेत्रको मेडिकल शिक्षा र स्वास्थ्य सेवाको अवस्था बुुझून भनेर बोर्ड टाँस गरेका हौं’ संयोजक पाण्डेले भने ।
संघर्ष समितिका सदस्य लोकेन्द्र धामीले बोर्डमा सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि विधेयक २०८० संसदको चालु अधिवेशनबाटै पारित गर, ६ सय शैया क्षमताको अस्पताल भवनमा कम्तीमा पनि ३ सय शैयाको अवस्पताल घोषणा गर, सुदूरपश्चिममै मेडिकल शिक्षा कहिलेदेखि पढन पाउने ?, तत्काल गेटामा मेडिकल शिक्षाको पढाई हुने ब्यवस्था गर, सुदूरपश्चिममा मात्र मेडिकल शिक्षाको अध्यापन नहुनुको दोष कसलाई दिने ? जस्ता नारा लेखिएका बताए । उनले राज्यले जहिले पनि सुदूरपश्चिमलाई हेपाह दृष्टिकोणले हेर्ने गरेको बताए ।
