अत्तरिया : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरतबहादुर शाह निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी मीन बमलाई २ सय ४५ मतान्तरले पराजित गर्दै अध्यक्षमा शाह निर्वाचित भएका हुन् । प्रेस युनियनबाट उम्मेदवार बनेका शाहविरुद्ध बम बागी उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।
उपाध्यक्षसहितका अन्य पदमा पनि शाहकै प्यानलका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा डडेल्धुराका राम धामीलाई पराजित गर्दै डडेल्धुराकै मानबहादुर साउद निर्वाचित हुँदा महिला उपाध्यक्षमा कैलालीकी कालीमैंया चौधरीलाई पराजित गर्दै कञ्चनपुरकी हेमन्ती डगौरा चौधरी निर्वाचित भइन ।
धामीले २ सय ८० मत पाउँदा साउदले ३ सय ३३ मत पाएका थिए । महिला उपाध्यक्षमा कालीमैंयाले २ सय ६१ मत पाउँदा हेमन्तीले ३ सय ३६ मत पाइन् । महासचिवमा कैलालीका हरि जोशीलाई ८० मतान्तरले पराजित गर्दै कैलालीकै शिवराज भट्ट निर्वाचित भए । जोशीले २ सय ६८ मत पाउँदा भट्टले ३ सय ४८ मत ल्याए । सचिवमा अछामका धनराज साउदले डडेल्धुराका भुवनेश्वरप्रसाद बोहरालाई पराजित गरे । साउदले ३ सय ९६ मत पाउँदा बोहराले १ सय ७३ मत पाए ।
समावेशी सचिवमा कैलालीका मुकेश टेर्रालाई पराजित गर्दै कैलालीका इन्द्राकुमारी केसी इन्दु निर्वाचित भइन् । टेर्राले २ सय ३० मत पाउँदा केसीले ३ सय ५५ मत ल्याइन् । कोषाध्यक्षमा कैलालीका हरिश विकलाई पराजित गर्दै डडेल्धुराका वरुण पनेरु निर्वाचित भए । विकले २ सय १९ मत पाउँदा पनेरुले ३७६ मत ल्याए ।
सदस्यहरूमा शाह प्यानलका उम्मेदवारहरू अर्जुनबहादुर सिंहले ४ सय २४, केशवदत्त भट्टले ४ सय २८, कृतबहादुर विष्टले ४ सय २१, दिनेशबहादुर कडायतले ३ सय ६४ र रमेशकुमार केसीले ३ सय २३ मत पाएर विजयी भए ।
यसअघि समावेशी तीन महिला सदस्य, दलित, जनजाति, मधेशी र अल्पसङ्ख्यक गरी ८ जना निर्विरोध निर्वाचित भएका थिए ।
सम्बन्धित पाेस्टहरु