अत्तरिया अस्पतालमा सिटीस्क्यान सेवा सुरु

अत्तरिया, ६ पुस : सुदूरपश्चिम प्रदेशको गोदावरी नगरपालिकामा रहेको अत्तरिया अस्पतालले सिटी स्क्यान मेसिनद्वारा सेवा सञ्चालन गरेको छ । शनिबार १९२ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको एक कार्यक्रमका बीच उद्घाटन गरी उक्त मेसिनबाट सेवा सुरु गरिएको हो । शनिबार एक औपचारिक कार्यक्रम बीच गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले रिबन काटेर सिटीस्क्यान मेसिनको उद्घाटन गरेका हुन् ।
नगर प्रमुख भट्टले अस्पतालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै सिटिस्क्यान सेवा सुरु भएसँगै सुदूरपश्चिम क्षेत्रका जनतालाई अत्याधुनिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरे । नीजि क्षेत्रको अस्पतालले गरेको यति ठूलो लगानीले उत्साहित भएको उनले बताए ।
यस्तै अस्पतालका अध्यक्ष डा. आनन्द पाठकले सिटी स्कयान सेवा शुरु भएपछि यहाँका बिरामीहरुले अब बाहिर जानूनपर्ने बताए । डा.पाठकले करिब ४ करोडको लागतमा उक्त मेसिन अत्तरिया अस्पतालमा भित्राइएको बताए ।
अस्पतालमा अब २४ सै घण्टा सिटी स्क्यान मेसिनबाट टाउको, नशा, हाड लगायतको जाँच गरिनुको साथै यसबाट मुटुको एन्जियोग्राफि पनि गरिने डा.आनन्द पाठकले बताए । उनले जनतालाई गुणस्तरीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको बताए । उनले अस्पतालले स्थापनाकाल देखि नै प्रविधिको प्रयोगलाई जहिले पनि प्राथमिकतामा राखेर ठूलो लगानी गर्दै आएको जानकारी दिए । हाल अस्पतालमा ९५ कर्मचारी कार्यरत रहेका साथै एक सय बेड रहेका छन् ।
सो अवसरमा अस्पतालले रक्तदान कार्यक्रम आयोजना तथा बिरामीहरूलाई फलफूल वितरण समेत गरेको थियो । उद्घाटन समारोहमा गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा देवी रोकाया, वडा नं १ का वडाध्यक्ष गोपाल दत्त भट्ट र वडा नं १२ का वडाअध्यक्ष भीमबहादुर खड्का लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.