अत्तरिया, १३ पुस : कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटामा रहेको बैजनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष राजबहादुर कडायतको सभापतित्वमा आयोजित सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्य मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घराज सोडारी रहेका थिए । यस्तै विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं ५ मा वडा अध्यक्ष सुद्धिराम चौधरी, सुदूरपश्चिम प्रदेश स्वरोजगार कार्यालय प्रमुख चूडामणि तिमिल्सिना रहेका थिए ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष राजबहादुर कडायतले गरेका थिए भने लेखा परीक्षण प्रतिवेदन प्रस्तुत व्यवस्थापक मुकेश बोहराले गरेका थिए ।
संस्थाले विभिन्न कारोबारहरूमा हरेक बृद्धि गर्दै आइरहेको छ । संस्थाले आर्थिक वर्ष २०८०\०८१ मा गत वर्षको तुलनामा आर्थिक कारोबार, निक्षेप, शेयरपूँजी, सदस्य संख्या लगायत विभिन्न कारोबारमा बृद्धि गरेको छ ।
२०६४ सालमा ५७ जना शेयरसदस्यको २ सय का दरले जम्मा गरी ११ हजार ४०० शेयरपुँजिबाट सुरु भएको संस्था आ व २०८०\०८१ सम्ममा आइपुग्दा संस्थाका शेयर पूँजी ५९ लाख ३४ हजार पुगेको छ । जुन गत वर्षको तुलनामा ७.०१ प्रतिशतले वृद्धि भएको छ भने शेयर सदस्य संख्या ८ सय ३५ जना पु-याउन सफल भएको छ ।
संस्थाले आर्थिक वर्ष २०८०\०८१ मा ७ करोड ५४ लाख २१ हजार ९३१ रुपैयाको कारोबार गरेको छ भने जुन गत आर्थिक वर्षको तुलनामा ४३.०९ प्रतिशतले बृद्धि भएको छ । यस्तै संस्थाले गत आर्थिक वर्ष २०७९\०८० मा ५ करोड २७ लाख ९ हजार रुपैया बराबरको कारोबार गरेको थियो । संस्थाले आ व २०८०\०८१ मा गरेको कारोबारबाट १२ लाख ९ हजार ४९७ खुद मुनाफा आर्जन गरेको छ ।
यस्तै संस्थाको जगेडा कोषमा ४९ लाख १५ हजार ४८३ रुपैया रहेको छ भने संस्थाको निक्षेप तर्फ ३२.०१ प्रतिशतले बृद्धि भई ५ करोड ६१ लाख ५० हजार बराबरको बचत संकलन गरेकोमा ४ करोड ७७ लाख २६ हजार रकम कर्जामा लगानी गरेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले शेयरसदस्यहरुको सहजताका लागि रेमिटान्स लगायत विभिन्न सेवासुविधाहरु ल्याएको संस्थाका अध्यक्ष कडायतले बताए । सहकारीबाट सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धी तालिम समेत सञ्चालन गरिएको साथै शेयर सदस्यहरुको क्षमता अभिवृद्धि हुने खालका योजनाहरु सहकारीले अगाडि बढाएको बताए । अध्यक्ष कडायतले सहकारीमा आवद्ध शेयरसदस्यहरु कृषिमा नै आत्मनिर्भर रहेकाले उनिहरुको सहजताका लागि सम्बन्धीत निकायसँग समन्वय गरी मल बिक्रि वितरण गर्ने कार्य गर्दै आइरहेको कृषकहरुलाई आवश्यक पर्ने बिउविजनहरुको बिक्रिवितरण समेत गरिएको बताए ।
संस्थाले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै बृहत रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । उत्कृष्ट सदस्यहरुलाई संस्थाले साधारण सभाको अवसर पारेर विभिन्न विधामा सदस्यहरुलाई सम्ममान सहित नगद पुरस्कार वितरण गरेको थियो । संस्थामा आबद्ध सदस्य मध्ये कृषकमा आसार्य राना, असल व्यवसायमा सुना देवी खड्का, टुकुन्ना डँगौरा, जितेन्द्र चौधरी साथै विपन्न परिवार इस्सरा ढोलीलाई सहयोग गरेको थियो । यस्तै उत्कृष्ट बाल बचतमा आयुष बोहरा र सोबि श्रेष्ठ, उत्कृष्ठ बचतमा रेवती भट्ट, रमेश रानालाई सम्मान सहित नगद पुरस्कार प्रदान गरिएको थियो भने असल ऋणीमा पशुपति बोहरा, सुनिल कुमार भण्डारी र जेष्ठ नागरिकमा नन्दा बोहरा र जय राम बुढालाई सम्मान सहित पुरस्कार वितरण गरिएको थियो ।
संस्थाका सभामा कार्यक्रम सञ्चालन संस्थाका सचिव मणरीन्द्र बुढाले गरे सँगै स्वागत मन्तव्य सञ्चालक समिति सदस्य तथा शिक्षा समिति संयोजक धनबहादुर खत्रीले गरेका थिए ।
