गेटामा मेडिकल विश्वविद्यालय सुचारु गर्न नागरिक दबाब

अत्तरिया, १५ पुस : नागरिक समाजले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शीघ्र सुचारु गर्न माग गरेको छ । सोमबार गेटामा आयोजित दबाब तथा ध्यानाकर्षण कार्यक्रममार्फत नागरिक समाजले विश्वविद्यालय सञ्चालनका लागि तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेको हो ।
कार्यक्रममा करिब दुई घण्टा नागरिक समाजका प्रतिनिधिहरूले विश्वविद्यालयको प्राङ्गणमा उभिएर ‘मेडिकल विश्वविद्यालय विधेयक द्रुत गतिमा पारित गर, मेडिकल कक्षा शीघ्र सञ्चालन गर’ लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।
कार्यक्रममा तत्कालीन गेटा मेडिकल कलेजका पूर्व निर्देशक हेमराज पुजाराले २८ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिममा हालसम्म एउटा पनि मेडिकल कलेज नहुनु दुखद रहेको बताए । उनले २०७८ सालमै ६ सय बेडको संरचना तयार भए पनि कानुनी अड्चनका कारण विश्वविद्यालय सञ्चालनमा ढिलाइ भएको उल्लेख गरे । नागरिक समाजका अगुवाहरूले विश्वविद्यालय सुचारु भएसँगै १० हजारभन्दा बढीले रोजगारी पाउने र क्षेत्रीय आर्थिक चलायमानमा सुधार आउने बताएका छन् ।
नागरिक समाजका प्रतिनिधिहरू, जसमध्ये राजेन्द्र वीर चन्द, डिल्ली राज जोशी, तीर्थ राज ओझा (गड्सेरा माइला), र प्रेम राज भण्डारी, सबैले राज्यले यस क्षेत्रमा स्वास्थ्य सेवा र मेडिकल शिक्षाको पहुँचबाट जनतालाई वञ्चित गरेको आरोप लगाएका छन् । उनीहरूले तत्काल विश्वविद्यालय सञ्चालनमा नल्याए संरचना बिग्रने र यस क्षेत्रका जनताका स्वास्थ्य अधिकार उल्लङ्घन हुने चेतावनी दिएका छन् ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र सञ्चालन हुन नसक्दा सुदूरपश्चिमका जनताले गुणस्तरीय स्वास्थ्य सेवा र उच्च शिक्षाबाट बञ्चित हुनु क्षेत्रको विडम्बना बनेको नागरिक समाजले स्पष्ट पारेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.