अत्तरिया, १५ पुस : सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका लागि चुनौतीको सामना र अवसरको सदुपयोग गर्न साझा संकल्प आवश्यक रहेकामा वक्ताहरूले जोड दिएका छन् । डडेल्धुरा परशुराम नगरपालिकाको आयोजनामा भएको दुईदिने ‘पहिलो सुदूरपश्चिम मेयर सम्मेलन’ उद्घाटन सत्रका वक्ताहरूले संघीयताको मर्मअनुसार बढीभन्दा बढी लाभ लिने गरी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आवश्यकता धेरै, तर स्रोत थोरै भएकाले सुदूरपश्चिम विकासमा समस्या रहेको बताए । यसैकारण आवश्यकता अनुसार योजना प्राथमिकीकरण गरी लगानी गर्न सबै पालिका प्रमुखहरूलाई उनले आग्रह गरे । मन्त्री थापाले आगामी दिनमा प्रदेश सरकारले पनि प्राथमिकतामा आधारित योजनामा मात्रै लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले कुल राजस्वमा सुदूरपश्चिमको योगदान दुई प्रतिशतभन्दा कम रहेकाले निश्चित अवधिसम्म यस क्षेत्रलाई सहुलियत दिनुपर्नेमा जोड दिए । उनले राज्यले दिएको स्रोत स्थानीय तहले पनि सही ठाउँमा र सही ढंगले प्रयोग गर्न आग्रह गरे ।
सुदूरपश्चिम नगरपालिका संघका प्रदेश अध्यक्ष वीरेन्द्र भट्टले जनताको आशा स्थानीय तहसँग रहे पनि स्रोतसाधनको अभावमा त्यसलाई सम्बोधन गर्न समस्या रहेको बताए । उनले कम आम्दानी र भौगोलिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेका तहलाई राज्यले विशेष सहयोग गरेर समानुपातिक विकासमा जोड दिन आग्रह गरे । कार्यक्रममा ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक) का कार्यकारी निर्देशक डा. केके श्रेष्ठ, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारी, परशुरामका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टलगायतले विकासका लागि कुनै एक पक्षको पहलले मात्रै नहुने भन्दै सबैको सामूहिक प्रयासबाट अगाडि बढ्नुपर्ने बताए ।
उनीहरूले पर्यटन (जलपर्यटनसहित), कृषि, औद्योगिक पूर्वाधार, दिगो विकासलाई दृष्टिगत गरी तीनै तहका सरकार र निजी क्षेत्रको योजनाबद्ध विकासका लागि सहकार्य जरुरी रहेको धारणा राखे । आयोजक नगरपालिकाका प्रमुख भरत जोशीले सुदूरपश्चिमका स्थानीय तहबिच समन्वय र सहकार्यमार्फत यहाँको समग्र विकासका लागि संगठित आवाज आवश्यक रहेको बताए ।
‘पहिलो सुदूरपश्चिम नगरपालिका मेयर फोरम– २०८१ यस क्षेत्रका प्रमुख सरोकारवाला, स्थानीय सरकारका नेतृत्वकर्ता, विज्ञहरू, प्रादेशिक र क्षेत्रीय सरकारी निकायहरूका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा ल्याउने लक्ष्यका साथ आयोजना हुँदै छ’, नगरप्रमुख जोशीको भनाइ छ, ‘यस फोरमले सुदूरपश्चिम क्षेत्रको बृहत् विकासका लागि सहयोग बढाउन विचार आदान–प्रदान र दिगो रणनीति निर्माणका लागि मञ्च प्रदान गर्नेछ । सुदूरपश्चिमको भविष्यका लागि स्थानीय तहहरू मिलेर काम गर्ने र योजना बनाउने यसको मुख्य लक्ष्य हो । यसबाट सोहीअनुसार निचोड आउनेछ भन्ने विश्वास छ ।’
सम्बन्धित पाेस्टहरु