अत्तरियाको समता स्कुलको नवौँ वार्षिकोत्सव सम्पन्न

अत्तरिया, २३ पुस : कैलालीको अत्तरियामा रहेको समता स्कुलले आफ्नो नवौँ वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार गोदावरी नगरपालिका–२, तेघरीमा विशेष कार्यक्रमका साथ मनाएको छ ।
स्कुलकी प्रमुख रितु पाण्डे शाहुको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा समता एजुकेसन ट्रस्टका केन्द्रीय निर्देशक दीपक सन्जेलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय अभिभावक, विभिन्न संघसंस्था, र समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । विद्यार्थीहरूद्वारा विभिन्न प्रतिभा प्रस्तुत गरिनुका साथै स्कुलद्वारा आयोजना गरिएका प्रतियोगिताहरूका विजेता र उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गर्दै पुरस्कार वितरण गरिएको थियो ।
स्कुलले वार्षिकोत्सवकै अवसरमा नयाँ भवनको शिलान्यास गर्ने योजना बनाए पनि विविध कारणले कार्यक्रम स्थगित भएको स्कुल प्रमुख रितु पाण्डे शाहुले जानकारी दिइन् । उनले भनिन्, “हामीले स्कुलको नयाँ भवन निर्माणका लागि शिलान्यास गर्ने सोच राखेका थियौँ, तर यो पटक सम्भव भएन । आगामी अवसरमा शिलान्यास कार्यक्रम सम्पन्न हुनेछ ।”
समता स्कुलले आफ्नो शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउँदै आइरहेको छ । वार्षिकोत्सवले विद्यालय, अभिभावक, र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुगाएको सहभागीहरूले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.