अत्तरिया, २६ पुस : गोदावरी नगरपालिका वडा नं ५ गेटामा रहेको विश्वज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष खिमा देवी ओझाको सभापतित्वमा आयोजित साधारण सभामा राष्ट्रिय सहकारी बैंक धनगढीका कार्यालय प्रमुख दिनेश गेलाल प्रमुख अतिथि रहेका थिए ।
सभामा प्रमुख अतिथि दिनेश गेलालले सहकारी संस्थाहरुले उत्कृष्ट योजना बनाएर कार्यहरू संचालन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले समितिले सदस्यहरूको हितलाई प्राथमिकता दिई उनीहरूलाई पायक पर्ने कार्यहरु सञ्चालन गर्नुपर्ने बताए । उनले सहकारीको समुचित प्रगतिको लागि नीति र नियमावलीको अधीनमा रहेर काम गर्न आवश्यक रहेको बताउँदै, यसबाट संस्थालाई उत्कृष्ट बनाउन सहज हुने भएको धारणा व्यक्त गरे । सहकारीलाई उत्कृष्ट बनाउन संस्थागत सुधार साथै सदस्यहरूको लागी उत्कृष्ट योजना र पायक पर्ने कार्यक्रमहरूको आवश्यकता रहेको बताए ।
उनले राष्ट्रिय सहकारी बैंकको सहयोग सदैव रहने प्रतिबद्धता समेत व्यक्त गरे । सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाकी अध्यक्ष खिमा देवी ओझाले गरेकी थिइन् भने संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत सचिव लक्ष्मी भट्टले गरेकी थिइन् । व्यवस्थापक मिना पन्तले संस्थाको आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । सभामा संस्थाले एक वर्ष भरिको गरेको कारोबार गतिविधिहरु प्रष्ट्याइएको थियो ।
२०५८ सालमा ८० जना सदस्यहरु मिलेर साना–साना समूहलाई संगठित गरी शेयर सदस्यहरूको जिबनस्तर सुधार गर्न स्थापना गरिएको सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मसान्त सम्ममा १० करोड ५७ लाख २१ हजार बराबरको कारोबार गरेको छ ।
हाल संस्थामा १ हजार ८ जना शेयर सदस्यहरु आबद्ध रहेकोमा शेयर पूँजी १ करोड ४२ लाख ५४ हजार ४०० पुगेको छ । यस्तै संस्थाले निक्षेप तर्फ ५ करोड ४५ लाख ८० हजार रकम बचत संकलन गरेको छ भने ६ करोड ७६ लाख ४८ हजार रकम बराबरको ऋणमा लगानी गरेको छ । संस्थाले पहिलो पटक आर्थिक जोखिम कोष व्यवस्थामा २ करोड १८ लाख ४२ हजार १३७ रुपैया छुट्याएको छ । जसले भविष्यमा सहकारीमा आईपर्ने समस्याहरु समाधानमा सहजता हुने सहकारीले विश्वास लिएको छ । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव लक्ष्मी भट्टले गरेकी थिइन् भनेस्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष बेलु पार्कीले गरेकी थिइन् ।
सम्बन्धित पाेस्टहरु