आजदेखि गोदावरीधाममा बाह्र राशी मकर मेला

गोदावरी नगरपालिका द्वारा धामसम्म निःशुल्क बसको व्यवस्था

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको प्रमुख धार्मिक स्थल गोदावरी धाममा आजदेखि बाह्र राशी मकर मेला लाग्ने भएको छ । मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । गोदावरी धाम व्यवस्थापन समितिले मेलाको तयारी पुरा भएको जनाएको छ । मेला आज (सोमबार) बाट सुरु हुने छ । मेलाको उद्घाटन कार्यक्रम दिउँसो १ बजे राखेको छ ।
गोदावरी धाम व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले प्रत्येक वर्ष १२ दिवसीय मकर मेला आयोजना गर्दै आइरहेको मेला लघुकुम्भ मेलाको रुपमा रहेको बताए । उनले प्रत्येक वर्ष माघ १ गते मकर संक्रान्तिको अवसरमा लाग्ने मेलाको आज उद्घाटन भएर १२ दिन सम्म संचालन हुने बताए ।
अध्यक्ष जोशीले मेलाको प्रमुख आकर्षणका रूपमा १००८ शिवलिङ्ग स्थापना, १ लाख २५ हजार हवन, नवग्रह शान्ति महानुष्ठान, विशेष पूजा, पितृकर्म, र भजन–कीर्तन जस्ता कार्यक्रम हुने जानकारी गराए । उनले प्रत्येक वर्ष लाग्ने मेलाको प्रमुख आकर्षणका रूपमा नवग्रह शान्ति महानुष्ठान, विशेष पूजा, हवन, पितृकर्म, आराधना, तथा भजन–कीर्तन कार्यक्रमहरू रहने भएको बताए । जोशीका अनुसार गोदावरी धामलाई बाह्र राशी, सत्ताइस नक्षत्र, र नवग्रह शान्तिसँग सम्बन्धित धार्मिक वस्तुहरूसँग सुसज्जित गरिने भएको बताए । मेलाको दौरान ५ वटा पुराणहरू पाठ गरिने साथै विशेषलक्ष्य हवनको आयोजना गरी पूर्णाहुति कार्यक्रम सम्पन्न गरिने योजना रहेको बताए ।
मेलामा भक्तजनहरूको सुविधा र मेलामा विशेषगरी मकर संक्रान्तिका दिन गोदावरी नदीमा स्नान गरी पूजापाठ गर्ने धार्मिक स्नानका लागि स्नान कुण्डको निर्माण कार्य पनि अगाडि बढाइएको उनले बताए ।
सुरक्षालाई पनि प्राथमिकता दिँदै मेला क्षेत्रलाई व्यवस्थित गर्न सुरक्षा निकायहरू परिचालन गरिने बताए । मेलामा धार्मिक अनुष्ठान, भजनकीर्तन, पण्डितहरूद्वारा विशेष पूजा तथा कथा वाचनजस्ता गतिविधिहरू पनि हुने भएको बताए । मेलाका लागी पतञ्जलि योग समिति अत्तरियाले कलश, सरसफाई लगायत सजावटका कार्यमा सहयोग गर्दै आइरहेको बताए । धाममा भोली अर्थात माग १ गते संक्रान्तिका दिन विहान देखि स्नान गर्नेहरुको अत्याधिक भिड लाग्ने गरेको छ ।
धामसम्म निःशुल्क बसको व्यवस्था
गोदावरी नगरपालिकाले माघ १ गते अर्थात भोली लाग्ने गोदावरी धाममा लाग्ने बाह्र राशी मकर मेलाको लागी निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । माघ १ गते देखि गोदावरी धाममा लाग्ने मकर मेलाको लागी नगरले ५ वटा बस निःशुल्क सेवा उपलब्ध गराउने भएको हो ।
आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख विरेन्द्र भट्टले गोदावरी धाम मकर मेलामा आउनेजाले श्रद्धालु भक्तजनहरुको सहजताका लागी ५ वटा बस निःशुल्क सेवा उपलब्ध गराउने भएको बताए । उनले माघ १ गतेका दिन यसपाली गोदावरी नगरपालिका क्षेत्रको ३ ठाउँबाट निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको बताए । उक्त १ दिन नगरले गेटा, स्याउले, मालाखेती, अत्तरिया देखि गोदावरी सम्मका लागी निःशुल्क बस सेवा सञ्चालन गरिने भएको हो ।
मेलामा निःशुल्क स्वास्थ्य शिविर साथै एम्बुलेन्सको व्यवस्था गरिने र निःशुल्क बस सेवा माघ १ गतेका दिन बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म भक्तालुजनहरुको सुविधाका लागी सञ्चालन गरिने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.