एपीएफले जित्यो प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधि

अत्तरिया : प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । कैलालीको धनगढीस्थित फाप्ला मैदानमा शनिबार भएको फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य पछ्याएको एपीएफले १२ ओभर पाँच बलमा एक विकेट गुमाएर भेटायो । एपीएफका ममता चौधरी ४४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहे । राजमती ऐरी ४ रनमा रनआउट भएकी थिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले १८ ओभर एक बलमा सबै विकेट गुमाउँदै ६७ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि मनिषा बोहाराले १८ तथा कप्तान बिन्दु रावलले १७ रन जोडिन् सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपीएफका लागि कविता जोशीले ३ तथा सबनम राई र कप्तान इन्दुले समान २\२ विकेट लिए । एपीएफले प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो । प्रतियोगिताको उपाधि विजेता एपीएफले पाँच लाख र उपविजेता बनेको सुदूरपश्चिम प्रदेशले तीन लाख पुरस्कार प्राप्त गरेको छ । नेपाल क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता आयोजना भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.