कैलाली:नेपाली कांग्रेस कैलालीका प्रवक्ता प्रेमराज भट्टले पार्टीका सबै पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसको जिल्ला समितिमा कान्छो जिल्ला सदस्यका रूपमा निर्वाचित भट्टले सामाजिक सञ्जालमार्फत आफूले सम्हालेका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेका हुन्।
“नयाँ वर्ष, नयाँ सोच, नयाँ संकल्प, नयाँ अठोट“ भन्ने शीर्षकमा फेसबुक पोस्ट गर्दै भट्टले नेपाली कांग्रेसको सबै पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। उनले लेखेका छन्, “म निस्वार्थ समाज सेवा गर्ने मान्छेले व्यक्ति बनाउने राजनीति गर्नु पर्छ जस्तो लागेन।“
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमार्फत १८ वर्षअघि राजनीतिमा प्रवेश गरेका भट्टले जनताको सेवाका लागि राजनीति सुरु गरे पनि पछिल्लो समय स्वार्थ र विलासितामा लिप्त नेताहरूका कारण आफूजस्ता कार्यकर्ताहरू निराश बन्नुपरेको उल्लेख गरेका छन्।
“देश र जनताको नाम बेचेर राजनीति गर्नेहरूबाट केही सकारात्मक परिवर्तन सम्भव देखिएन,“ उनले फेसबुक पोस्टमा लेखेका छन्, “राजनीतिको कुनै पनि पदमा बसिरहन मलाई मेरो नैतिकताले दिएन।“
भट्टले लोकप्रिय मतका साथ निर्वाचित गराएका प्रतिनिधिहरूप्रति आभार प्रकट गर्दै अब आफू स्वदेशमै व्यवसायिक गतिविधि मार्फत समाजसेवामा लाग्ने संकेत पनि दिएका छन्।उनको फेसबुक पोस्ट जस्ताको त्यस्तै…
नयाँ बर्ष नयाँ सोच नयाँ संकल्प नयाँ अठोट २०८२ श्री सभापति ज्यु नेपाली कांग्रेस जिल्ला कार्य समिती कैलाली विषय : राजीनामा जानकारी सम्बन्धमा नेपालमा परिवर्तनको अगुवाइ गरेका महामानब बिपि कोइरालाको आदर्श , गणेशप्रसद भट्टराईको निष्ठा र लौहा पुरुष गणेशमान सिंहको त्याग लाई आत्मसात गर्दै लामो समय (१८बर्ष ) देखि नेपाल विद्यार्थी संघ बाट नेपाली कांग्रेस पार्टीको साधारण सदस्यता लिइ निरास र बेरोजगार भयर बिदेशीन बाध्य भयका नेपाली जनतालाइ स्वदेश मै व्यावसाय गरि आत्मनिर्भर बनाइ आसाको प्रत्याभूत गराउन सकिन्छ कि भनेर निस्वार्थ भाबले राजनितिमा लागेको थिय तर यहाँ जनतालाइ आसा र बिश्वास दिन हैन नेतालाइ नेतृत्वमा पुगायर बिलासिताको जीवन जिउनको लागि मात्र हामिले राजनिती गरिदिनुपर्ने रैछ। मैले मेरो १८ बर्षको राजनितीक जिबनमा कहिल्यै पनि राजनीतिबाट पद, पैसा र प्रतिष्ठा बनाउनुपर्छ सोचेन सोचे त केबल देश बिकास र जनताको जिबनमा सुधारात्मक परिबर्तन गर्न स्वदेश मै रोजगारी सृजना गरि देशलाई समृद्ध बनाउन सकिन्छ कि ! अफसोच यी सबै गर्नलाइ त ब्यक्ती पहिला आफू स्वार्थ भन्दा माथी हुनुपर्यो नि ! आफ्नो स्वार्थको लागि देश र जनताको नाम बेचेर राजनिती गर्नेहरु बाट यी सबै ब्यर्थ रैछ। समाजमा कुनैपनी किसिमको सकारात्मक सुधार गर्न नसक्ने भयपछी राजनितिको कुनै पनि पदमा बसिरहन मलाई मेरो नैतिकताले दियन मैले अहिले गरिरहेको राजिनीतीले म आफु बनुला तर देश र जनताको लागि केही गर्न सक्दैन भन्ने मेरो ठहर हो । त्यसैले जुन लक्ष्य बोकेर राजनीति गरे त्यो पूरा गर्न नसक्ने भय पछि मैले आफु राजनितिको कुनै पनि पदमा बसिरहन मलाई मेरो नैतिकताले प्रश्न गरिरह्यो । म निस्वार्थ समाज सेवा गर्ने मान्छेले ब्यक्ति बनाउने राजनिती नै गर्नु पर्छ जस्तो लागेन।अन्तमा मलाई बिश्वास गरि लोकप्रिय मतका साथ कैलाली जिल्लाको कान्छो जिल्ला सदस्यको रुपमा जिताउन मतदान गर्ने सबै मतदान प्रतिनिधि र तपाईले बिश्वास गरि प्रबत्ताको जिम्मेवारी दिनु भयकोमा तपाई लगायत सबै प्रती आभार र धन्यवाद ब्यक्त गर्दै आजका मिति बाट नेपाली कांग्रेसको सबै जिम्मेवारी बाट राजिनामा गरेको जानकारी गर्दछु । ” धन्यवाद “