बैतडी:बैतडीको पुर्चौंडीमा तीनदिने बृहत स्वास्थ्य शिविर शुरु भएको छ।बैतडी समाज कैलाली र पुर्चौंडी नगरपालिकाको आयोजनामा शुक्रबार देखि शिविर शुरु गरिएको बताइएको हो।
शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए।सामाजिक उत्तरदायित्व अन्तरगत समाजले हरेक बर्ष स्थानीय सरकारहरुसंग सहकार्य गरेर शिविर सञ्चालन गर्दै आएको उनले बताए।पुर्चौंडी बहुमुखी क्याम्पसको भवन र पुरानो स्वास्थ्यचौकीको भवनमा शिविर सञ्चालन भइरहेको पुर्चौंडी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताए।
तीनदिन सम्म सञ्चालन हुने शिविरमा मुटु रोग सम्बन्धी जाँच, जनरल चेकजाँच, हाडजोर्नी तथा नसा रोग सम्बन्धी जाँच, आँखा जाँच लगायतका सेवाहरु प्रदान भइरहेका उनले बताए।शिविरको एक कार्यक्रमकाबीच सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरेकी थिईन।
शिविरको उद्दघाटन गर्दै सामाजिक विकास राज्यमन्त्री खड्काले स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यसको प्रत्याभूती गर्नका लागि तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताइन्। बैतडी समाज कैलालीले गरिरहेको प्रयासमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्ने बताइन्।