अत्तरियाः काठमाडौंमा केन्द्रित रही आएको शिक्षक आन्दोलन क्रमशः स्थानीय तहमा समेत विस्तार हुँदै गएको छ ।
सोही क्रममा आईतबार कैलालीको गोदावरी नगरपालिकाका शिक्षकहरूले अत्तरियाको दुर्गा मन्दिर परिसरबाट सुरु गरी बजार परिक्रमा जुलुस निकालेका छन्।
शिक्षकहरूले शिक्षा क्षेत्रमा भइरहेको सरकारी हस्तक्षेप विरुद्ध आवाज उठाउँदै शिक्षाको गुणस्तर, स्थायित्व र शिक्षकहरूको हकहितका सवालमा ऐक्यबद्धता जनाएका हुन्।उनीहरुले नाराबाजी र संगठित जुलुसमार्फत सरकारलाई आफ्ना मागहरूप्रति गम्भीर बन्न चेतावनी दिएका छन्।
उपसमितिको नेतृत्वमा गरिएको आन्दोलन कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूले “नेपाल शिक्षक महासंघ जिन्दाबाद”,“शिक्षक कर्मचारी एकता जिन्दावाद”,हाम्रो शिक्षा ऐन जारी गर, हाम्रो आन्दोलन जारी छ,“बिगतका सम्झौता कार्यान्वयन गर”लगायत नारा लगाएर बजार परिक्रमा गरेका थिए।आन्दोलनमा सहभागी शिक्षकहरूले स्थानीय तहमा समेत आन्दोलनको सशक्त उपस्थिति आवश्यक रहेको बताए।
शिक्षा ऐन पूरा नहुन्जेल सम्म दैनिक ८ बजे देखि १० बजे सम्म निरन्तर शिक्षक आन्दोलन हुने जनाएको छ। उपसमितिका संयोजक ललन प्रसाद चौबेले शिक्षकहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन नहुँदा बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए। उनका अनुसार पञ्चायती व्यवस्थामा बनेको शिक्षा ऐन २०२८ लाई संशोधन गरी गणतान्त्रिक शिक्षा ऐन निर्माण तथा कार्यान्वयन गर्नुपर्ने आन्दोलनको मुख्य उद्देश्य हो।
नगरभित्र प्रत्यक्ष रूपमा सहभागी हुन नसकेका शिक्षक तथा विद्यालय कर्मचारीहरुले पनि ऐक्यवद्धता जनाउँदै आन्दोलनमा साथ दिइरहेका छन्। चौबेले शिक्षा जस्तो मुलभूत र संवेदनशील क्षेत्रमा अझैसम्म स्पष्ट कानुनी व्यवस्था नहुनु दुःखद भएको भन्दै, माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।
शिक्षकहरुले सरकारलाई समयमै शिक्षक कर्मचारीका मागहरू सम्बोधन गर्न आग्रह गरेका थिए। उनीहरूले लामो समयदेखि अटेरी गरिँदै आएको पुराना सम्झौता कार्यान्वयनको माग पनि दोहो¥याए।शिक्षक महासंघले संघीय शिक्षा ऐन तत्काल जारी गरी शिक्षा क्षेत्रमा देखिएको अन्योलता अन्त्य गर्नुपर्ने बताउँदै आएको छ। आन्दोलनकारी शिक्षकहरूले आगामी दिनमा माग सम्बोधन नभए संघर्षका कार्यक्रमहरू अझ तीव्र पारिने चेतावनीसमेत दिएका छन्।