कमलबजार विमानस्थलबाट व्यावसायिक उडान

अछाम, ७ बैशाख : अछामको कमलबजार विमानस्थलबाट पहिलोपटक आइतबारदेखि व्यावसायिक उडान सुरु भएको छ । तत्कालीन विद्रोही माओवादीको आक्रमणमा २०५८ सालमा कमलबजार विमानस्थल ध्वस्त भएको थियो । विमानस्थलमा गत पुस १३ गते तारा एयरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले परीक्षण उडान गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले आइतबार विमानस्थलको उद्घाटन गरेका हुन् । कैलालीको टीकापुर र अछामको कमलबजारलाई हवाई दुरीबाट नजिक गराउन पहल भइरहेको उनले बताए ।

कमलाजबजार विमानस्थल सञ्चालनका लागि प्राविधिकसहित ४ कर्मचारी आवश्यक पर्ने र सोको व्यवस्थापन कमलबजार नगरपालिकाले गर्ने नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए । उनका अनुसार ग्राभेल मात्रै भएको विमानस्थलमा नै सातामा एक दिन २५ मिनेटको हवाई दूरीमा रहेको नेपालगन्जसम्म उडान गरिने भएको छ ।
विमानस्थल नियमित सञ्चालनका लागि आर्थिक समस्या पर्ने भएकाले कमलबजार विमानस्थलबाट लाभ लिनसक्ने अन्य पाँच स्थानीय तहले आर्थिक सहयोग गर्ने सम्झौता पनि भइसकेको उनले बताए । उनका अनुसार मंगलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन, ढकारी, तुर्माखाँद गाउँपालिकाले आर्थिक सहयोग गर्नेछन् । विमानस्थल सञ्चालनका लागि आवश्यक खर्चको १०\१० प्रतिशत गरी ५० प्रतिशत ५ स्थानीय तहले बेहोर्ने र कमलबजार नगरपालिकाले ५० प्रतिशत खर्च बेहोर्ने सम्झौता भएको उनले बताए ।
विमानस्थल निर्माणको काम २०४९ सालदेखि सुरु भएको थियो । उपभोक्ता समितिबाट विमानस्थल निर्माणको काम भइरहेको अवस्थामा माओवादीले टर्मिनल भवन भत्काएको थियो । त्यसपछि लामो समयसम्म गौचरणमा परिणत विमानस्थल स्तरोन्निका लागि २०७९\८० मा संघीय सरकारले १ करोड ५० लाख बजेट विनियोजन गरेपछि ग्राभेल गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.