अत्तरिया, २ असार : प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सुरु भएको छ । खेलकुद क्षेत्रमा पत्रकारहरुको क्षमता विकास गर्ने उद्देश्यले २ दिने तालिम सोमबार देखि सुरु भएको हो ।
खेलकुद मञ्च कैलालीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा भएको हो । खेल विधालाई पत्रकारितामा अगाडि वढाउन पत्रकारहरुको लागि तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । २०६७ सालमा स्थापना भएको खेलकुद पत्रकार मञ्चले विभिन्न समयमा खेल विधालाई पत्रकारिताका माध्यमबाट अगाडि बढाउँदै आएको छ । विश्वभरि जति महत्वपूर्ण खेल बन्दै गएको छ त्यसैअनुरुप खेलकुद पत्रकारिताको पनि महत्व बढेको समयमा पत्रकारहरुका लागि यो तालिम ज्यादै अर्थपुर्ण रहने आयोजकको दावी रहेको छ ।
उद्घाटन समारोहको अध्यक्षता खेलकुद मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठकले गरेका थिए । यसै गरी तालिमको प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासङ्घका सचिव बैकुण्ठराज पराजुली रहेका थिए । तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघ बझाङ्गका अध्यक्ष ललित सिंह, पत्रकार दिपक उपाध्याय, खेलकुद पत्रकार मञ्चका पदाधिकारी र प्रशिक्षार्थी विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको छ ।
सम्बन्धित पाेस्टहरु