अत्तरिया : लागूऔषध दुरुपयोग तथा अबैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा कैलालीको धनगढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ । ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ असार १२ गते बिहान धनगढी चौराहादेखि पार्कमोडसम्म प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजनामा तथा सामाजिक विकास कार्यालय कैलालीको समन्वयमा भएको थियो । कार्यक्रमले युवा जमातमा बढ्दो लागूऔषध सेवनले गर्दा समाजमा परेको नकारात्मक प्रभावलाई औँल्याउदै युवालाई कसरी सचेत र सजग गर्ने भन्ने विषयलाई प्राथमिकता दिएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की , प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी , जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) प्रहरी उपरीक्षक बाल नरसिंह राणा, धनगढीका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी , नागरिक समाज, पत्रकार लगायत सरोकारवाला सबैको उल्लेख्य उपस्थिति रहेको थियो ।
सप्ताहव्यापी रुपमा २० जुनदेखि २६ जुनसम्म मनाइने यस दिवसको अन्तिम दिनका रूपमा प्रभातफेरी आयोजना गरिएको हो । कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जिल्ला प्रशासनले समाजमा लागू औषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन यसप्रकारका सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन ।
सम्बन्धित पाेस्टहरु