अत्तरिया, २५ मंसिर : सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ विश्व स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस–२०२५ को अवसरमा अत्तरीयामा रहेको सुप समावेशी विद्यालयमा विशेष स्वास्थ्य कार्यक्रम सम्पन्न गरेको छ । ‘‘महँँगो उपचार खर्चबाट दिक्क नागरिक’’ भन्ने नारासहित आयोजित कार्यक्रम २०८२ मंसिर २६ गते सम्पन्न भएको थियो ।
स्वास्थ्य कार्यालय धनगढी, कैलालीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट तथा सूचना अधिकारी मिनबहादुर धामी रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, स्वास्थ्य प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
विद्यालयको मध्यम आर्थिक अवस्था र विद्यार्थीहरूको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखी चिसोयाममा जोखिम बढ्ने स्वास्थ्य समस्याबाट जोगाउन विविध गतिविधिहरू सञ्चालन गरिएको हो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना सत्र, तथा स्वच्छता सामग्री वितरण गरी उनीहरूलाई थप सचेत र सुरक्षित बनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
चिसो मौसमका कारण स्वास्थ्य जोखिम बढ्ने भएकाले कम्बल, बाल्टी, जग, डस्टबिन, रुमाल लगायतका सामग्री वितरण गरिएको सूचना अधिकारी धामीले बताए । उनका अनुसार, फरक क्षमता भएका विद्यार्थी तथा विद्यालय समुदायका लागि न्यानो सामग्री र सरसफाइ उपकरण अत्यन्त उपयोगी हुने भएकाले विशेष प्राथमिकताका साथ हस्तान्तरण गरिएको हो ।
स्वच्छता तथा स्वास्थ्य सामग्रीहरू विद्यालयका प्रधानाध्यापक देवी साउदलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । प्रधानाध्यापक साउदले विद्यालयलाई प्राप्त सहयोगले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा र सरसफाइ स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यालयलाई निरन्तर साथ दिँदै आएको स्वास्थ्य कार्यालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रहनुपर्ने आवश्यकता औँल्याए ।