घोडाघोडी : टिकटक र भिडियोमार्फत चर्चा बटुलेको आमपानी क्षेत्रमा पर्यटकको भिडभाड लाग्ने गरेको छ । कहिलेकाहीँ मात्र पर्यटक जाने आमपानीमा हिजोआज पर्यटक खाली हुँदैनन् । कोही अटो लिएर, कोही बसमा त कोही मोटरसाइकलमा आमपानी पुग्ने गर्छन् । आमपानी लम्कीदेखि आठ किलोमिटर उत्तरतर्फ चुरेको फेदीमा रहेको प्राकृतिक रमणीय छटाले भरिपूर्ण छ ।
आमपानी घुम्न र वनभोजका लागि आएका टेङ्ग्नुवा महिला सामुदायिक वनका सचिव राधा पाण्डेले एकान्त जङ्गलभित्र रहेको आमपानी क्षेत्र रमणीय रहेको बताइन । उनले समूहका ७० जना उपभोक्ता आमपानी घुम्न आएको जानकारी दिइन ।
पर्यटकको भिड बढ्न थालेपछि आमपानीमा फोहोर बढ्न थालेको छ । वनभोज र घुम्न आउने पर्यटकले खानेकुरासँगै ल्याएका प्लास्टिकजन्य वस्तुको उचित व्यवस्थापन हुन नसकेको सचिव पाण्डेले बताइन । उनले सामुदायिक वनले वनभोज खान आउनेसँग केही शुल्क उठाएर भए पनि फोहोर व्यवस्थापन गर्न सुझावसमेत दिइन ।
कैलालीको मोहन्याल गाउँपालिकामा रहेको आमपानी पछिल्लो समय चर्चामा रहेको पर्यटकीय क्षेत्र हो । मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनक्षेत्रमा रहेको आमपानी प्राकृतिक झरनालाई कृत्रिम निर्माणले अझ आकर्षक बनाएपछि पर्यटकको आकर्षण बढ्दै गएको स्थानीय बताउँछन् ।
कोरोना सङ्क्रमणकालमा प्राकृतिक चुरे पहाडको फेदीमा रहेको झर्नाको सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उक्त क्षेत्रमा जानेको सङ्ख्या बढ्न थालेको हो । लम्कीचुहा नगरपालिका–१ का दधिराम चापाईले राम्रो बाटोको सुविधा पनि नभएको आमपानी चर्चामा आएपछि अहिले थुप्रै विकास निर्माणका काम भएको बताए ।
मोहन्याल गाउँपालिकामा रहेको चर्चित पर्यटकीय स्थल राजकाँडा जाने बाटोमा आमपानी पर्छ । अन्य बारभन्दा बिदाको दिन र शनिबार उक्त क्षेत्रमा पर्यटकको भिडभाड हुने गर्छ । कैलालीलगायत आसपासका जिल्लाबाट वनभोज खान, झरनामा नुहाएर रमाइलो गर्न धेरै पर्यटक आमपानी आउने गरेको चापाईले बताए । नयाँ गन्तव्य क्षेत्रका रूपमा रहेका पर्यटकीय स्थलमा प्रदेश सरकारको अनुदान सहयोग रहेको छ ।
पर्यटकको रोजाइमा आमपानी पर्न थालेपछि व्यवस्थित गर्न सरकारले चासो दिएको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताए । सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत झरनाको पूर्वाधार निर्माणमा सहयोग गरिएको हो । बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाही बताउन्छन ।
पदमार्ग र धेरैले नुहाउन मिल्ने झरनाको जग निर्माणका लागि ३६ लाख रुपियाँ खर्च गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख डबलबहादुर बोहोराले बताइन ।आमपानी पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने जिम्मा सामुदायिक वन उपभोक्ता समितिलाई दिइएको छ ।