अत्तरिया : कैलालीमा संचालन गरिएको परिवार नियोजन स्थायी बन्ध्याकरण घुम्ती शिविरमा २ सय भन्दा बढीले सेवा लिएका छन । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले विभिन्न १० वटा पालिकामा संचालन गरेको घुम्ती शिविरमा २ सय ११ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाईले जानकारी दिए ।
उनले यहि मंसिर ७ गते देखि मंसिर २६ गते सम्म विभिन्न पालिकामा संचालन गरिएको बन्ध्याकरण घुम्ती शिविरमा १ सय ९३ महिला र १८ जना पुरुषले स्थायी बन्ध्याकरण गरेको बताए ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुवँरले स्थानियले स्वईच्छिक रुपमा शिविरमा सेवा लिएको बताए । उनले स्थायी बन्ध्याकरणले अनिच्छिक गर्भाधान, विभिन्न मानसिक समस्या न्युनिकरण गर्न सहयोग पुग्ने बताए । सन्तानको रहर पुगीसकेकाहरुले पनि परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न झन्झट मानेर पनि बाध्यात्मक रुपमा सन्तान जन्माउने गरेका बताउँदै प्रमुख कुवँरले अब स्थायी बन्ध्याकरण पछि यो समस्या समाधान हुने बताए ।
उनले धेरै स्थानिय स्थायी बन्ध्याकरणले स्वास्थ्यमा समस्या आउँछ भन्ने भ्रमका कारण पनि डराउने गरेको तर शिविरमा यसबारे चेतना दिएपछि धेरैले यो सेवा लिएको बताए ।