बित्थडचिरका पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनगढी । बझाङको बित्थडचिर गाउँपालिकाका पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । बित्थडचिर गाउँपालिका १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।

ठेकेदारले पूर्वगाउँपालिका अध्यक्षसँग मिलेर खेल मैदान निर्माण गर्दा कमसल निर्माण सामाग्री प्रयोग गरेको, प्राविधिक रूपमा उक्त ठाउँको डिपिआर नगरी निर्माण गरेको, काम सम्पन्न नगरी रकम हिनामिना गरेको उजुरी अख्तियारमा परेको थियो । खेल मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख र सांसद विकास कोषबाट १५ लाख बजेट विनियोजन गरिएको थियो ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सबइन्जिनियर गणेशराज उपाध्याय, लेखापाल हर्कदेव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारी समेतले आपसी मिलोमतो तथा योजना बनाई गैरकानुनी लाभ लिने कार्य गरेको अख्तियारको दाबी छ । उनीहरूविरुद्ध १४ लाख ६६ हजार ५०३ जनही बिगो कायम गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.