गोदावरी–३ र कृष्णपुर–५ जोड्ने पुलको शिलान्यास

अत्तरिया, १७ माघ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ र कैलालीको गोदावरी नगरपालिका–३ तथा १० जोड्ने मोहना नदीमाथिको पक्की पुलको शनिबार औपचारिक रूपमा शिलान्यास गरिएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले एक कार्यक्रमका बीच शनिबार पुलको शिलान्यास गर्दै यसले दुवै पालिकाबीचको आवागमन सहज बनाउने विश्वास व्यक्त गरे ।

शिलान्यास समारोहमा नगरप्रमुख भट्टले भने, “यो पुल केवल भौतिक संरचना होइन, यहाँका नागरिकको दैनिकीसँग जोडिएको अत्यन्त आवश्यक पूर्वाधार हो । पुल बनेपछि शिक्षा, स्वास्थ्य, व्यापार र आपतकालीन सेवामा ठूलो सहजता आउनेछ ।” प्रदेश सरकारको ४ करोड १५ लाख ११ हजार ८५ रुपैयाँ लगानीमा निर्माण हुने पुल २०८३ पुस ३० गतेभित्र सम्पन्न गरी पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिनेछ ।
“मोहना पुल केवल आवागमनको साधन मात्र होइन, यहाँको खेलकुद विकासमा पनि योगदान पुग्नेछ । साथै यस क्षेत्रको सडक सञ्जाललाई प्रभावकारी र व्यवस्थित बनाउने हाम्रो प्रतिबद्धता कायम छ । पुल निर्माणसँगै स्थानीयको दैनिकी र समग्र विकासमा ठूलो सहजता आउने विश्वास छ ।”

४० मिटर लम्बाइ र ८.२ मिटर चौडाइको पुल निर्माणको ठेक्का धनगढी–५ स्थित असु खप्तड भैरव जेभीले पाएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि दीपक कुँवरका अनुसार २०८२ असार २० गते सम्झौता भए पनि वर्षायाम र प्राविधिक कारणले काम ढिलो सुरु भएको हो । “सम्झौता अवधिभित्रै, सम्भव भएसम्म त्यसअगावै पुल सम्पन्न गर्ने लक्ष्यसहित हामी काम गरिरहेका छौं,” उनले भने ।
कार्यक्रम गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) को सभापतित्वमा सम्पन्न भएको थियो । वडाध्यक्ष शाहीले भने, “दशकौँदेखि पुलको अभावमा स्थानीयले भोग्दै आएको समस्या अब अन्त्यतर्फ जानेछ । यो पुल हाम्रो वडाका लागि दीर्घकालीन उपलब्धि हो ।” कार्यक्रममा गोदावरी–३ का वडाध्यक्ष तेजराज अवस्थी, कृष्णपुर–५ का वडाध्यक्ष टेकराज पाण्डेय, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

पुल नहुँदा नदी वारपार गर्न जोखिम मोलेका स्थानीय शिलान्याससँगै उत्साहित देखिएका छन् । उनीहरूले अब आवतजावत सुरक्षित र सहज हुने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.