धनगढी : धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा केयरटेकर अस्पताल प्रालि सञ्चालनमा आएको छ । सर्वसाधारणलाई किफायती तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा ल्याएको सञ्चालकले जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर अस्पतालका अध्यक्ष गोपालबहादुर शाहीले अस्पतालको सेवा सुविधाबारेमा जानकारी दिएका हुन । उनले स्वास्थ्य सेवा पैसाको पहुँचमा सीमित हुनु नहुने बताए ।
‘सरकारी अस्पतालमा भीड र निजी अस्पतालमा महँगो शुल्कको बीचमा सर्वसाधारण नागरिक समस्यामा छन् । यही खाडल पूर्ति गर्न केयरटेकर अस्पताल स्थापना गरेका हौँ,’ उनले भने ।
उनका अनुसार अस्पतालमा सरकारी अस्पताल सरह किफायती शुल्क लिइनेछ भने सेवा, प्रविधि र व्यवस्थापन भने निजी अस्पताल स्तरको हुनेछ ।
अस्पतालमा हाल सय शय्याको बेड क्षमता रहेको छ । २४ सै घण्टा इमर्जेन्सी सेवा सञ्चालनमा रहेको अस्पतालमा जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोर्नी तथा मेरुदण्ड, छाला तथा सौन्दर्य, मुटुरोग, रेडियोलोजी, नाक, कान, घाँटी, डेन्टल, फिजियोथेरापी लगायतका विशेषज्ञ सेवाहरू उपलब्ध छन् ।
त्यस्तै, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी, युरो सर्जरी र न्युरो सर्जरी सेवा समेत सुरु भइसकेको अस्पतालले जनाएको छ । आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड सेवा र संक्रमण नियन्त्रण प्रणाली सहितको सुरक्षित शल्यक्रिया कक्ष अस्पतालको विशेषता रहेको छ ।
अस्पताल परिसर १ बिघा क्षेत्रफलमा फैलिएको छ, जहाँ पर्याप्त पार्किङ सुविधा उपलब्ध छ । बिरामी र आफन्तलाई सहज बनाउने उद्देश्यले अस्पतालमा एसी जडान, हरियाली वातावरणसहित हिँडडुल गर्न मिल्ने पार्क तथा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।
केयरटेकर अस्पतालले आफूलाई उपचार केन्द्रमा मात्र सीमित नराखी स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । निकट भविष्यमै नर्सिङ तथा एचएको अध्ययन कार्यक्रम सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ । साथै, भेन्टिलेटरयुक्त एम्बुलेन्स, सीटी स्क्यान सेवा जडान गर्ने तयारी भइरहेको छ, जसले अब यस क्षेत्रका बिरामीलाई ठूला शहर धाउनुपर्ने बाध्यता हटाउने विश्वास अध्यक्ष शाहीको छ ।
अस्पतालले ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ । सहुलियतपूर्ण उपचार, औषधि र नियमित चेकजाँचमार्फत बिरामी–डाक्टर सम्बन्धलाई सुदृढ बनाउने प्रतिबद्धता अस्पतालले जनाएको छ । ‘हामी बिरामीलाई सम्मानपूर्वक सेवा दिने, उपचारमा पारदर्शिता अपनाउने र पैसाभन्दा पहिला मानव जीवनलाई प्राथमिकता दिनेछौँ,’ अध्यक्ष शाहीले भने ।
सम्बन्धित पाेस्टहरु