पोल्याण्ड उड्ने कलमको सपना अधुरै रह्यो, धामी परिवारको सहारा अल्पायूमै ढल्यो

धनगढी । डोटीको दुर्गम पहाड, खोल्सा–खोल्सी र उकाली–ओरालीबीच अवस्थित बोगटान फुड्सिल गाउँपालिका–१, सिमचौर पोखरी । यही माटोमा कलम बहादुर धामी, २०५३ साल मंसिर ४ गते हर्क बहादुर धामी र जोगु देवी धामीको कोखबाट जन्मिएका थिए । साधारण परिवारमा जन्मिए पनि उनका सपना असाधारण थिए। अभावबीच हुर्किएका उनले संघर्षलाई नै जीवनको मार्ग बनाएका थिए।

सानैदेखि मेहनती र लगनशील स्वभावका कलम अध्ययनप्रति गम्भीर थिए। गाउँबाट धनगढी पुगेर उनले आईसीएच इन्स्च्यिुटबाट सीएमए अध्ययन पूरा गरे। सीप हासिल गरेपछि केही समय गाउँपालिकामै करार सेवामा काम गरे।

तर सीमित पारिश्रमिकले न परिवार धानिन्थ्यो, न भविष्यका सपना पूरा हुन्थे। त्यसपछि उनले व्यवसायतर्फ पाइला मोडे। दाजु राम धामीको सल्लाहमा धनगढी बसपार्क नजिकै १५–२० लाख लगानी गरेर होटल सञ्चालन गरे। उत्साह थियो, मेहनत पनि थियो, तर आम्दानी अपेक्षाकृत हुन सकेन।

नेपालमै संघर्ष गरेर सफल हुने सपना कमजोर बन्दै जाँदा उनले विदेश जाने निर्णय गरे। विभिन्न युरोपेली देशमा प्रयास गरेपछि अन्ततः पोल्याण्डको भिषा स्वीकृत भयो। तर विडम्बना—भिषा आएको खबर सुनेको बिहान नै नियतिले उनको जीवन यात्रा टुंग्यायो।

गाउँमा विद्युत् विस्तारको काम चलिरहेको थियो। घरघरमा तार जडान गर्ने कार्यमा कलम सक्रिय थिए। माघ २८ गते साँझ करिब ५ः२० बजे, वडा नं. १ पोखरीका एक घरमा उनी वायरिङको काम गरिरहेका थिए।

त्यही क्रममा कोठामा राखिएको भरुवा बन्दुक एकाएक पड्कियो। घटनामा उनी गम्भीर घाइते भए र ज्यान गुमाए। उज्यालो बाल्न पुगेका हातहरू त्यहीँ रोकिए। एकैछिनमा सिंगो गाउँ शोकमा डुब्यो।

दुर्गम क्षेत्र भएकाले स्वास्थ्य सेवा सीमित थियो। पोस्टमार्टमका लागि शव जिल्ला सदरमुकाम शिलगढी लगियो। तर प्रक्रिया र ढिलासुस्तीले परिवारको पीडा अझै बढायो।

अन्ततः शव धनगढीस्थित सेती प्रादेशिक अस्पताल रिफर गरियो। बर्फ राखेर शव जोगाउँदै परिवार धनगढी पुग्यो। तर त्यहाँ पनि प्रक्रिया तत्काल हुन सकेन। शोकमाथि झन्झट थपिँदा पीडित परिवार दोहोरो पीडामा प¥यो।

अध्ययनकै क्रममा हेमन्ती धामीसँग प्रेम सम्बन्ध गाँसिएका कलमले दुई वर्षअघि विवाह गरेका थिए। हेमन्ती पनि सोही पालिकामा करार सेवामा कार्यरत थिइन्। सुखद दाम्पत्य जीवन अघि बढ्दै थियो।

विदेश जाने तयारी, परिवारको भविष्य, छोरा आदिपलाई राम्रो शिक्षा दिने योजना—सबै सपना अधुरै रहे। भाइ पुरन धामी अध्ययनका लागि चीनमा छन्। दाजु राम धामी धनगढीमा व्यवसाय गर्दै आएका छन्। वृद्ध आमाबुवाका लागि उनी नै सहारा थिए। एकाएक त्यो सहारा टुट्यो।
३० वर्षमै जीवन यात्रा टुंगिए पनि उनले गाउँमा बाँडेको उज्यालो अझै बलिरहेको छ।

घरघरमा झिलिमिली बत्ती बल्दा गाउँलेहरू उनलाई सम्झन्छन्। कलम बहादुर धामी केवल एक व्यक्ति होइनन्—संघर्ष, आशा र प्रेमको प्रतीक हुन्। उनको जीवनले एउटा सत्य पुनः सम्झाएको छ—मानिसले सपना देख्न सक्छ, संघर्ष गर्न सक्छ, तर नियतिको निर्णय सधैं आफ्नो हातमा हुँदैन।

आज सिमचौर पोखरीका बत्तीहरू बल्दा, त्यो उज्यालोमा कलमको मेहनत र सम्झना सधैं झल्किरहनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.