गाइमारे चुरे वनमा टेम्पो पल्टिएको घटना : प्रदेश सरकारद्वारा पाँच सदस्यीय छानबिन समिति गठन

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको भन्ने विवादास्पद घटनाको सत्यतथ्य पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो। समितिलाई घटनाका सम्पूर्ण पक्षको अध्ययन गरी सात दिनभित्र यथार्थपरक प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जानकारी दिएका छन्।

डिभिजन वन कार्यालय कैलालीले सञ्चालन गरेको अतिक्रमण हटाउने अभियानका क्रममा जेठ २९ गते गोदावरी सामुदायिक वन क्षेत्रभित्र एक टेम्पो भिरबाट खसालिएको भन्दै सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्ममा फोटो, भिडियो र समाचार सार्वजनिक भएका थिए। उक्त सामग्री सार्वजनिक भएसँगै वन कार्यालयको कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि प्रदेश सरकारले औपचारिक छानबिन प्रक्रिया अघि बढाएको हो।

छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानून अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।

सचिव कोइरालाका अनुसार समितिलाई घटनासँग सम्बन्धित प्रमाण संकलन, जिम्मेवार निकायसँग समन्वय तथा सबै पक्षको वस्तुनिष्ठ अध्ययन गरी निष्पक्ष प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ।

घटनापछि सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा वन कर्मचारीहरूको भूमिकाबारे व्यापक बहस सुरु भएको छ। यसैबीच प्रदेश सरकारले छानबिन प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ।

यसअघि जेठ ३१ गते डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामविचारी ठाकुरले पत्रकार सम्मेलन गर्दै टेम्पो नियतवश भिरबाट नखसालिएको दाबी गरेका थिए। हाल ठाकुरसहित घटनासँग सम्बन्धित अन्य कर्मचारीहरू जिल्ला प्रहरी कार्यालय कैलालीको निगरानीमा रही सोधपुछमा रहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.