बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्लाको पूर्वीउत्तरी क्षेत्र जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना भएको छ ।
पिलुचौर बजारबाट मनिकाँडा जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको हो । घटनाबारे एकीन विवरण संकलन र थप अनुसन्धानकार्य भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटकाअनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थल मै मृत्यु भएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जगन्नाथ–३ मनिकाँडाका अन्दाजी ४५ वर्षका धनरुप शाही, अन्दाजी ३५ वर्षका धर्म शाही र ५२ वर्षीय रामसरा देवी सिंह रहेका छन । धनरुप शाही र धर्म शाहीको घटनास्थल मै र रामसरादेवी सिंहको कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनामा चालकसहित ट्याक्टरमा सवार चार जना घाइते भएका छन । घाइते हुनेमा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ बस्ने अन्दाजी २१ वर्षका नबिन बोहरा, बाजुरा जगन्नाथ–३ मनिकाँडा बस्ने अन्दाजी ४० वर्षीय बिउरा ओड, अन्दाजी २२ वर्षीय सङ्गीता शाही र अन्दाजी ४५ वर्षीय सिद्धा ओड रहेका छन । उनीहरुको कोल्टी अस्पतालमा उपचार भइरहेको छ ।