पराजयपछि पनि जनताबीच ‘आनन्द’ गाउँगाउँ पुगेर मतदातालाई धन्यवाद दिदै

अत्तरिया  : प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ मतदाताबीच पुगेर धन्यवाद तथा आभार व्यक्त गरिरहेका छन् ।
निर्वाचन सकिएपछि उनले गाउँ–टोलमा पुगेर शुभेच्छुक, समर्थक र मतदातासँग भेटघाट गर्दै निराश नहुन आग्रह गरेका छन् ।
बिष्टले मतदाताका घरदैलोमै पुगेर चुनावका क्रममा दिएको साथ, सहयोग र समर्थनका लागि कृतज्ञता प्रकट गरिरहेका छन् । उनले प्रतिनिधि सभा निर्वाचनमा मतदाताले दिएको अमूल्य मत, विश्वास र साथप्रति आफू हृदयदेखि आभारी रहेको बताए । सम्भव भएसम्म सबै गाउँ–टोलमा पुगेर धन्यवाद व्यक्त गर्ने प्रयास गरिरहेको उनले बताए ।
मतदाताले देखाएको आत्मीयता, माया र समर्थनले आफूलाई जनताको सेवामा अझ समर्पित भएर काम गर्ने प्रेरणा दिएको पनि बिष्टले उल्लेख गरे । उनले मतदाताको विश्वासलाई सधैं सम्मान गर्दै क्षेत्र नम्बर ४ को विकास, समृद्धि र जनहितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।
गाउँमा पुगेका बिष्टलाई स्थानीय मतदाताले पनि उत्साहका साथ स्वागत गरेका छन् । उनीहरूले निर्वाचनमा पराजय भए पनि क्षेत्र नम्बर ४ का जनताको दुःख–सुखमा साथ नछाड्न आग्रह गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.