कञ्चनपुर : नागरिकको आवश्यकताका आधारमा योजना प्राथमिकीकरण गर्दै छनौट गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। पहुँच, जनप्रतिनिधी एव कर्मचारीको तजबिजमा छनौट हुने योजना प्रभावकारी नहुने भएकाले नागरिकको आवश्यकताका आधारमा छनौट गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।
सोमबार जिल्ला समन्वय समिति कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको ‘कञ्चनपुरको जिल्लाको सर्वाङ्गिण विकासमा योजना छनौट प्राथमिकीकरण तथा अधुरा योजनाको पूर्णता दिने विषयक’ छलफलमा सहभागिहरुले योजना प्राथमिकताका आधारमा छनौट र कार्यान्वयनमा जोड दिएका हुन् । नागरिकको आवश्यकता एकातिर तर, सरकारले अर्कोतिर योजना ल्याउँदा त्यो प्रभावकारी नहुने अधुरो अपुरो र अर्थहिन भएको औल्याएका छन् ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले राज्यले योजनाहरुमा लगानी गर्ने तर उपलब्धीमुलक नहुने भएकाले आगामी आर्थिक वर्षदेखि संचालित हुने योजना प्रभावकारी बनाउनका लागि तीनै तहका सरोकारवालासँग छलफल गरिएको बताए । आगामी आर्थिक वर्ष ०८३\०८४को नीति, कार्यक्रम एव बजेट अवागै स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधी, कर्मचारीदेखि सरोकारवाला नागरिकसंग संयुक्त छलफल गरिएको बताए ।
योजना वितरणमुखी, नेता, कर्मचारीमुखी भन्दा पनि समग्र जिल्लाको सर्वाङ्गिण विकास गर्ने खालका ल्याउने उदेश्य रहेको बताए। एक योजना पनि तीनै तहले एकै ठाँउमा ल्याउने तर अर्को ठाँउमा कुनैपनि तहले नल्याउने प्रवृति रहेको हुँदा त्यसले विकासमा प्रभाव नपार्ने भएकाले प्रभावकारी योजना ल्याउन कार्यक्रम गरिएको बताए । जिल्लाका विभिन्न पालिका, प्रदेश र संघीय सरकारका विभिन्न विकासे कार्यालयका प्रमुख एव प्रतिनिधीहरुले चालु, बहुबर्षीयदेखि आगामी योजनाका विषय प्रस्तुत गर्दैै बजेट अभावले योजना कार्यान्वयनमा समस्या देखिएका थिए ।
कार्यक्रममा २५ वर्षदेखि जकल्टिएको आरक्षपीडित पुर्नस्थापना समस्या जस्ताको त्यस्तै रहेको भन्दै आरक्षपीडितले कुनैपनि आर्थिक वर्षमा तीनै तहका सरकारले आफुहरुको समस्या समाधानका लागि योजना नल्याउने दुखेसो पोखेका थिए ।
आरक्षपीडित संघर्ष समितिका महासचिव गोबिन्द नेपालीले ०५८ सालदेखि विस्थापित भएका आफुहरुको समस्यामा तीनै सरकार अनुदार रहेको र चुनावका बेलामा मात्रै सबैले समस्या समाधान गर्छु भन्ने तर जितेपछि केही नगर्ने प्रवृति दोहोरिएको बताए । उनले जिल्लाभरी बसेकै स्थान वा नयाँ राम्रो स्थानमा जमिन दिनुपर्नेमा योजना ल्याइदिन आग्रह गरेका छन् ।