अत्तरिया : हनुमान जयन्तीका दिन गोदावारी धामस्थित हनुमान मन्दिर सेवा समितिको पाँचौं साधारण सभा विविध धार्मिक कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
हनुमान मन्दिरमा श्रद्धालु भक्तजनहरूको सहभागितामा पूजा–आराधना, ध्वजा अनावरण तथा झन्डोतोलन कार्यक्रम गरिएको हो ।
हनुमान जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल बैजनाथ बाहिनीका निमित्त प्रमुख एसएसपी (वरिष्ठ उपरीक्षक) दिग विजय सुवेदीले ध्वजा अनावरण तथा झन्डोतोलन गरेका थिए ।
समितिका अध्यक्ष नरेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा एसएसपी दिग विजय सुवेदी साथै विशिष्ट अतिथिका रूपमा स्वामी प्रेमानन्द महाराज सहित विभिन्न धार्मिक तथा समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सेवा समितिका सदस्य डा. डम्बर बहादुर पालले गरेका थिए भने स्वागत मन्तव्य समितिका सचिव टेकराज भट्टले व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले काम, क्रोध, मोह र अहंकार त्याग्नुपर्नेमा जोड दिँदै अनुशासित र सकारात्मक जीवनशैली अपनाउन आग्रह गरे । उनले सशस्त्र प्रहरी बल सधैं जनताको सेवामा २४ घण्टा तत्पर रहेको बताए ।
यस अवसरमा मन्दिर परिसरमा राम दरबार निर्माण कार्य भइरहेको साथै उक्त संरचना पाँच तलासम्म निर्माण गर्ने योजना रहेको रहेको छ । उक्त हनुमान मन्दिर धार्मिकसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ र आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन दिनप्रतिदिन बढ्दै गएको छ ।
सम्बन्धित पाेस्टहरु