चौकीडाँडा-फल्टुडे सडक निर्माणमा ढिलाई, स्थानीयको विरोध

अत्तरिया  : कैलालीको चौकीडाँडा-फल्टुडे सडकखण्ड स्थानीयले बन्द गरेका छन् । समयमा सडक निर्माण नहुँदा धुलोले सास्ती खेप्नु परेको भन्दै गोदावरी ३ स्थित मालाखेतीमा स्थानीयले सडकमा ढुंगामुँढा राखेर अवरुद्ध गरेका हुन् । लामो समयदेखि सडक अलपत्र परेपछि धुलोले आक्रान्त हुँदा सडक अवागमन बन्द गर्नुपरेको स्थानीय नन्दकृष्ण जोशीले बताए ।

चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माण कम्पनी एडभेञ्चर थिगिम जेभी र तेडी निर्माण सेवाको लापरबाहीका कारण आफूहरुले सास्ती खेप्नु परिरहेको उनले बताए । धुलो र धुँवाका कारण स्थानीयको जनस्वास्थ्यमा समेत प्रत्यक्ष असर परिरहेको उनले बताए । सडक कालोपत्रेकालागि पटकपटक ठेकेदारसंग माग गर्दा पनि सुनुवाइ नभएको गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले बताए ।

अन्तिम विकल्पकारुपमा सडक बन्द गरेको भन्दै स्थानीयको उक्त कार्यमा आफ्नो सर्मथन रहेको वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) ले बताए । यसअघि गत भदौमा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सडक निर्माण कार्य छ वर्षदेखि अघि नबढेपछि वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्षहरूले सडकबाटै कार्यालय सञ्चालन गरेर विरोध जनाएका थिए । ठेकेदारले गरेको ढिलासुस्ती र लापरबाही विरुद्ध वडा अध्यक्षहरुसमेतको सहभागितामा अत्तरिया चोकमा विरोध ¥याली पनि निकालिएको थियो ।

त्यसपछि बाध्य भएर ठेकेदारले पूर्वाधार विकास कार्यालय कैलालीमा २०८२ चैत्र १५ गतेसम्म कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेका थिए । तर हालसम्म काम अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको उक्त सडकअन्तर्गत कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माणको काम ठेकेदारको लापरबाहीका कारण सुस्त छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.