धनगढी : सुदूरपश्चिम प्रदेश सभामा नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रयोग गर्दै आएको सरकारी गाडी शनिवार पिकनिकमा प्रयोग भएको भन्दै विवाद सिर्जना भएको छ। बिदाको दिन कनेरी पार्कमा आयोजित पिकनिकमा उक्त गाडी देखिएपछि दुरुपयोगको आरोप लागेको हो।
सरकारी नियम अनुसार बिदाको दिन सरकारी सवारी साधन प्रयोग गर्न पाइँदैन, तर भट्टले भने गाडी प्रयोग गरेको खुलेको छ। उनी सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेताको हैसियतमा सुदूरपश्चिम प्रदेश सभा सचिवालयबाट गाडी सुविधा लिँदै आएका छन्।
यस विषयमा भट्टले आफू पिकनिकका लागि नभई जनतासँग भेटघाटका लागि कनरी गएको दाबी गरेका छन्। उनका अनुसार कनरी क्षेत्रमा केही दिनअघि स्थानीयले राखेका मागबारे थप छलफल गर्न शनिवार त्यहाँ पुगेका थिए। यद्यपि, उनले उक्त दिन गाडी प्रयोगका लागि प्रदेश सभा सचिवसँग मौखिक रूपमा कुरा गरेर ३५ लिटर इन्धन लिएको पनि बताए।
संसद सचिवालयका सचिव देवबहादुर बोगटीले भने जेन्जी आन्दोलनपछि शनिवार सरकारी सवारी साधन प्रयोगका लागि अनुमति दिन बन्द गरिएको जानकारी दिए। उनले भट्टले बिहान फोन गरेर इन्धन मागेपछि आफूले शनिवार भएको ध्यान नदिई पेट्रोल पम्पमा तेल दिन भनेको स्वीकार गरे।
बोगटीका अनुसार सामान्य अवस्थामा बिदाको दिन सवारी प्रयोग गर्न लिखित पास आवश्यक पर्छ, तर हाल अनुमति प्रणाली बन्द हुँदा जोखिम मोलेर प्रयोग गर्ने गरिएको छ। उनले भट्टलाई मासिक कोटाबाट ३५ लिटर इन्धन उपलब्ध गराइएको बताए।